विकासन्युज

नवलपरासीकाे निजी विद्यालयले शुल्क नलिने

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन् । विसं २०७७ वैशाखदेखि विद्यालय पूर्णरुपमा सञ्चालन नहुँदासम्म विद्यार्थीबाट कुनै शुल्क नलिने निर्णय गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पश्चिम नवलपरासीका अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । “विद्यालयले लिने गरेको मासिक शुल्क, कम्युटर, यातायातलगायतका कुनै पनि शुल्क विद्यालय पूर्णरुपमा सञ्चालन नभएसम्म नलिने निर्णय गरेका छौँ”, उनले भने । वैशाखदेखि असारसम्मको शिक्षक कर्मचारीको पारिश्रमिक सम्बन्धित विद्यालयले आफैँ स्वेच्छिक व्यवस्थापन गर्ने तर साउनदेखि सबै शिक्षकलाई बेतलबी बिदामा पठाएको अध्यक्ष गुरुङले बताए । “बन्दाबन्दीका कारण विद्यालय बन्द रहँदा कुनै आम्दानी नभएकाले शिक्षकको पारिश्रमिक भुक्तानी गर्न निजी विद्यालयलाई समस्या छ, उक्त अवधिको पारिश्रमिक स्वेच्छिक व्यवस्थापन गर्ने जिम्मेवारी विद्यालयले लिएका छन्”, उनले भने ।

गत आर्थिक वर्षमा बाँकेमा साढे २३ हजार सवारी कारबाहीमा

बाँके । गत आर्थिक वर्षमा २३ हजार ७४३ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा छ हजार ९५२ ट्रक, चार हजार ९८१ जीपकार, चार हजार २९ बस, तीन हजार ८७० मोटरसाइकल, दुई हजार ७६२ ट्रयाक्टर, ५४७ टेम्पो र ५४६ अन्य सवारी साधन कारवाहीमा परेका छन् । उक्त कारबाहीमा रु एक करोड २९ लाख ६९ हजार राजश्व सङ्कलन भएको छ । जसमा ट्रक कारवाहीबाट रु ३७ लाख ७४ हजार ५००, जीपकारबाट रु २५ लाख ४० हजार ५००, मोटरसाइकलबाट रु २२ लाख ८५ हजार ५००, बसबाट रु २० लाख ७४ हजार ५००, ट्रयाक्टरबाट रु १५ लाख १४ हजार ५००, टेम्पोबाट रु दुई लाख ९९ हजार र अन्य सवारी साधनको कारवाहीबाट रु दुई लाख ८८ हजार ५०० राजश्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार बाँकेमा गत आवमा १९१ वटा सवारी दुर्घटना भएका छन् । सो दुर्घटनामा २५४ सवारी संलग्न रहेका छन् । सो अवधिमा ७३ जनाको मृत्यु भएको छ । जसमा छ बालक, तीन बालिका, १२ महिला र ५२ जना पुरुष रहेका ट्राफिक प्रहरीको तथ्याङ्क छ । यस्तै पाँच बालिका, ११ बालक, ३२ महिला र ११० पुरुष गरी १५८ जना गम्भीर घाइते भए भने तीन बालिका, आठ बालक, २० महिला र ९१ पुरुष गरी १२२ जना सामान्य घाइते भए । सवारी दुर्घटनामा ४० पशुचौपाया पनि घाइते भएका छन् । गत आवमा सबैभन्दा धेरै १३० मोटरसाइकल दुर्घटना भएका छन् भने ३३ जीपकार, २३ बस, १९ ट्रक, १३ साइकल, १२ टेम्पो, १० ट्रयाक्टर, सात माइक्रो, चार टिपर र एक अन्य सवारी दुर्घटना भएका छन् । प्रहरी निरीक्षक बमका अनुसार मादक पदार्थ सेवनबाट सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् । त्यस्तै यात्रुको गल्ती, तीव्र गति र ओभरलोड, यान्त्रिक गडबडी, सडकको अवस्था र पशुचौपायाका कारण सवारी दुर्घटना भएका छन् । कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० वर्ष उमेर समूहका बिनालाइसेन्स तीव्र गतीमा सवारी चलाउनेको सङ्ख्या धेरै छ ।

नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित भएका छन् । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै हस्तक्षेप रोक्न मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । समयानुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यावसायिक क्षमता अभिवृद्धितर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले बताए । पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचन आएको र सरकारले मोबाइल सेवाको नवीकरणमा विभेद गरेको उनले बताए । नेपाल टेलिकममा ९२ प्रतिशत सरकार र आठ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर छ । माघ ०७६ मा नै फाेरजी सेवाको काम सक्नुपर्ने भए पनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटिटिएच सेवाको दुई लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भए पनि अहिलेसम्म ५० हजार मात्रै वितरण भएको, ठूलो रकम खर्च गरी भित्र्याएको इन्टरनेसनल ब्यान्डविथ तथा लिज लाइन पादरर्शी नबनाई निजी सेवा प्रदायकलाई पोस्ने माध्यम बनाइएको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारी संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् । नवीकरण दस्तुर वैज्ञानिक बनाउनुपर्ने, संस्थाको आन्तरिक सबलीकरणका लागि कम्पनी पुनर्संरचना गर्नुपर्ने र वृत्ति विकासको अवसर रहने गरी लागू गर्नुपर्ने माग उनीहरूको छ ।

बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट बचाउन अनलाइन वर्कशप सञ्चालनमा

काठमाडौं । बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफको आयोजनामा भर्चुअल वर्कसप आयोजना हुने भएको छ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ विषयमा ६ वटा भर्चुअल वर्कसप सञ्चालन हने चाइल्ड सेफनेटले जनाएको छ । यस भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, इन्टरनेट सेवा प्रदायक, सरोकारवाला तथा सरकारसँग छलफल गरिने सेफनेटले जनाएको छ । यसको उदेश्य अनलाइनमा बालबालिका तथा युवाहरुको सुरक्षामा सचेतना बढाउदै सरोकारवालाहरुको राय संकलन गर्न रहेको चाइल्ड सेफनेटका सञ्चालक अनिल रघवंशीले बताए । २०७७ साउन ३ गते (जुलाई १८, २०२० तारिख) देखि सञ्चालन हुने वर्कशप साउन १४ गते अर्थात २९ जुलाइसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालवालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकरात्मक असरहरु देखिएको प्रति चाइल्डसेफ नेटले अभिभावक, वालवालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आएको छ । संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालवालिका सम्वन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने कामहरु गरिरहेको रघुवंशीले बताए । भर्चुअल वर्कसपको पहिलो सेसन साउन ३ गते(२० जुलाई) शनिवार आयोजना हुनेछ । साँझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुने यस वर्कसपमा बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग वियमा बालबालिकासँग छलफल हुनेछ । कार्यक्रमको दोस्रो सेसन साउन ५ गते सोमबार आयोजना हुनेछ । यस सेसनमा अभिभावकको दृश्टिकोणमा बालबालिकाको स्क्रिन समय र साइबर सुरक्षा व्यवस्थापन विषयमा आमाबुबासँग छलफल गरिनेछ । यो सेसन साउन ५ गते साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । तेस्रो सेसन साउन ८ गते बिहिबार दिउसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा युवा व्यक्तिहरुको नजरमा अनलाइन, यौन दुर्व्यवहार र बालबालिका तथा युवाको शोषण बारेमा युवा व्यक्तिहरुसँग छलफल हुनेछ । चौथौ सेसन साउन १० गते शनिबार दिउसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा बालबालिका तथा युवाको नजरमा साइबर बुलिङ र हेट स्पीच विषयमा छलफल हुनेछ । यसैगरी पाचांै सेसन साउन १२ गते सोमबार साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । यसमा अनुचित अनलाइन सामग्री, बाल यौन दुर्व्यवहार र शोषन सामग्रीहरुको जोखिमको बारेमा दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायकसँग छलफल गरिनेछ । छैठौ सेसन साउन १५ गते बुधबार साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा बालबालिका तथा युवालाई अनलाइन सुरक्षामा सरकारी भुमिका विषयमा सरोकारवाला तथा सरकारी अधिकारिहरुसँग छलफल गरिनेछ । कार्यक्रममा सहभागि जनाउन [email protected] मा इमेल गरेर मिटिङ आइडी तथा लिंक प्राप्त गर्न सकिनेछ । कार्यक्रममा उठेका विषय, चासो र संवोधनलाई एकिकृत गर्दै संस्थाले रिपोर्ट प्रकाशन गर्नेछ । यसअघि अनलाइनबाटै लिइएको सर्वेक्षणलाई पनि समावेश गर्दै रिपोर्ट प्रकाशन गरेर सम्वन्धित निकायमा गर्नपर्ने सुधार, योजना र कार्यक्रमहरुको लागि ध्यानाकर्षण गराइने आयोजकले जनाएको छ । कार्यक्रममा डिजिटल संवाद र लिभिङ विथ आइसिटीको सहकार्य र सहयोग रहेको छ ।

२ लाख ७३ हजारले पाए अजोड इन्स्योरेन्सको आईपीओ

काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । निष्काशन बन्द भएको ४ दिनमै संस्थाको सेयर बाँडफाँड भएको हो । निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकीको हात खाली भएको छ । योग्य आवेदन दिएकामध्ये २ लाख ११ हजार ४ सय ९८ जनाको हात खाली भएको छ । कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता सेयर माग भएको थियो । र, ८ सय १३ वटा आवेदन रद्द भएका छन् । कम्पनीले बिहीबार(असार २५ गते)बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणमा बिक्रीमा राखिएको थियाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने व्यवस्था रहेकाे थियाे । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

मौद्रिक नीति स्वागतयोग्य छः साैरभ ज्याेति

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ सन्तुष्ट देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका बैंकिङ समिति सभापति शौरभ ज्योतीले समग्र रुपमा मौद्रिक नीति उद्योग व्यवसायीलाई समेट्ने खालको भएको बताएका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारद्धारा सार्वजनिक गरिएको मौद्रिक नीतिले कोरोना भाइरसका कारण संकटमा परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न धेरै राहत हुने उनको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंले मौद्रिक नीतिका लागि दिएका धेरै सुझावहरु सम्बोधन भएको बताउँदै उनले कर्जा पुनरसंचनाका, पुनरतालिकिकरणको कुरा लामो समय देखि ठूलो समस्याको रुपमा रहेकोले त्यसलाई सम्बोधन गरेको उनको भनाई छ । उनले समग्रमा मौद्रिक नीति स्वागतयोग्य भएको धारणा दिएका छन् । ‘निक्षेप कर्जा अनुपात (सीसीडी रेसियो) बढाउँदा १५० अर्ब रुपैयाँ थपिन्छ, साना तथा घरेलु व्यवसायलाई पुनरुत्थानका लागि ५० अर्बको कोष आयो, सेवा शुल्क तोकेको छ, यसले कर्जाको लागत घटाउँछ, लोन पोटफोलियो तोकिएको छ, कृषिमा १५ र उर्जा १० प्रतिशत लगानी तोकेको छ, यी सबै कुरा स्वागतयोग्य छन्,’उनले विकासन्युजसँग भने । यस्तै उनले कर्जा तिर्ने समययावधि ६ महिना ९ महनिा १ वर्ष र २ वर्ष सारिएकोले यसले उद्योगी व्यवसायीलाई धेरै राहत पुग्ने बताए । महासंघले दिएको दुई सुझाव मौद्रिक नीतिमा नसमेटिएको उनको भनाई छ । आफूहरुले नोक्सानमा गएका कम्पनीहरु बन्द गर्न सहज हुने गरी एक्जीट पोलीस माग गरेको र अर्को क्रेडिट रिकोभरी पोलीसीको माग सम्बोधन नभएको उनको भनाई छ ।

उपत्यकाकाे १८ हजार रोपनी जग्गा एकीकरण गरी व्यवस्थित बस्ती विकास गरिने

काठमाडौं । काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको १८ हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी व्यवस्थित बस्ती विकास गर्न जोरपाटीमा कार्यालय स्थापना गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं. १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं. ९ भित्रको करिब २४ हजार रोपनी जग्गामध्ये १८ हजार रोपनी जग्गा एकीकरण गर्न लागिएको हो । यसका लागि पूर्वी काठमाडौँ जग्गा एकीकरण (ल्याण्ड पुलिङ) आयोजना सञ्चालन गर्न कार्यालय स्थापना गरिएको आयोजना प्रमुख दीपक श्रेष्ठले राससलाई जानकारी दिए । आयोजना सञ्चालन गर्न तीनैवटा नगरपालिकाका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधि सदस्य रहेको समिति गठन गरिएको छ । समितिको संयोजकमा धेरै वटा वडा पर्ने कागेश्वरी मनोहराका नगर प्रमुख कृष्णहरि थापालाई जिम्मेवारी दिइएकोे छ । राजधानीको उत्तर–पूर्वी भेगमा तीव्र रुपमा अव्यवस्थित बस्ती विकास हुन थालेपछि जग्गा एकीकरण गरी व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए । बाटो घाटो नपुगेका स्थानमा कम्तीमा छ मिटरको सडक पु¥याइने आयोजनाले जनाएको छ । आयोजना सञ्चालनका लागि उपभोक्ता समिति, आवश्यकतानुसार उपसमिति, आयोजना क्षेत्रभित्रका सबै कित्ता जग्गालाई एकीकरण गर्ने, आयोजना क्षेत्रमा विकसित घडेरी निर्माण गर्न प्रचलित कानूनबमोजिम ठेक्कामा दिने काम अघि बढाउन लागिएको छ । त्यसअघि काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग स्वीकृति लिने चरणमा प्रवेश गरेको आयोजना प्रमुख श्रेष्ठले बताए । प्राधिकरणको स्वीकृतिमा आयोजनाको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार पारी शहरी विकास मन्त्रीको संयोजकत्वमा रहेको भौतिक विकास समितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ । प्राधिकरणबाट स्वीकृति पाएपछि दुई वर्षसम्म आयोजना सञ्चालन हुने वडामा कित्ताकाट रोकेर नयाँ घर निर्माणसमेत रोकिने जनाइएको छ । आयोजना सम्पन्न गरी विकसित घडेरी वितरण गर्ने, आयोजना हस्तान्तरण गर्ने र सम्पन्न भएपछि सोको प्रतिवेदन तीनै वटा नगर कार्यपालिकासमक्ष पेश गरिने भएको छ । गत असार ५ गते बसेको आयोजना व्यवस्थापन समितिको बैठकले आयोजना कार्यान्वयन व्यवस्थापन कार्यविधि २०७६ स्वीकृत गरेको छ । आयोजना सञ्चालन गर्न आवश्यक पर्ने बजेटको ५० प्रतिशत कागेश्वरी मनोहरा, ३५ प्रतिशत गोकर्णेश्वर र १५ प्रतिशत शङ्खरापुर नगरपालिकाले व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ । सो रकमलाई तीन नगरपालिकाको सभाबाट सम्बोधन गरी विनियोजन ऐन २०७७/२०७८ मा उल्लेख गरिएको पनि समितिले जनाएको छ । आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययनका लागि प्रचलित सार्वजनिक खरिद कानूनबमोजिम परामर्शदाता छनोटको काम अघि बढाउन लागिएको जनाइएको छ । आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि जग्गाधनी तथा मोहीलाई जानकारी दिन अन्तरक्रिया सञ्चालन गरिने भएको छ । अन्तरक्रियामार्फत आयोजनामा सहभागी हुन निवेदन आह्वान गर्ने निर्णय पनि बैठकले छ । एकीकरण गरिने जग्गामध्ये १६ हजार रोपनी व्यक्तिको पर्ने प्रारम्भिक अनुमान समितिले गरेको छ । दुई हजार रोपनी जग्गा भने सार्वजनिक, पर्ती, नदी, वन क्षेत्रको पर्ने प्रारम्भिक अनुमान गरिएको छ । सार्वजनिक जग्गामा खुला स्थानका साथै आकर्षक उद्यानसमेत बनाइने छ । जग्गा एकीकरण गर्दा जग्गा धनीको ३५ प्रतिशत जग्गा काटिने भएको छ । त्यसमध्ये २० प्रतिशत सडक, पाँच प्रतिशत खुला स्थानका लागि र १० प्रतिशत जग्गा बेचेर आयोजनालाई व्यवस्थित गर्ने सोच अघि सारिएको छ । हाल सडक नपर्ने जग्गाधनीबाट बढी जग्गा लिएर व्यवस्थित गर्ने सिद्धान्त पनि आयोजनाले अघि सारेको छ । हाल कृषि भइरहेको क्षेत्रमा जग्गा एकीकरण गरिए पनि अन्नबाली लगाउन भने रोक नलगाइने जनाइएको छ । अहिले पनि यस क्षेत्रमा धेरै कृषियोग्य जमिन छ । यसअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले यो क्षेत्रमा स्याटेलाइट सिटी बनाउने अवधारण अघि सारेको थियो । कृषियोग्य जमिन मासिने भन्दै विरोध भएपछि एक दशक अघि स्याटेलाइट सिटीको योजना रोकिएको थियो ।

सगरमाथा इन्स्योरेन्स कम्पनी २५ वर्षमा प्रवेश

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ७३ वटै कार्यालयमा एकसाथ केककाटी वार्षिक उत्सव मनाएको छ । यही अवसरमा कम्पनीले प्रधान कार्यालयमा राखेको रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन् । २५ औं वार्षिकउत्सवको उपलक्ष्यमा नेपालभरी छरिएका शाखा मार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका विविध कार्यक्रमहरु आयोजना गरिने कम्पनिले जनाएको छ । कम्पनीकोे चुक्तापुंजी हाल रु. १ अरब १२ लाख २२ हजार पुगेको छ । आ.व. २०७६/०७७ को अषाढ मसान्तमा १ लाख ९४ हजार १ सय ७४ बीमालेख बिक्री गरी रु. २ अरब १९ करोड ४७ लाख ७६ हजार बीमाशुल्क संकलन गरेको छ । त्यसै गरी आ.व. २०७६/०७७ मा रु १ अरब २ करोड दाबी भुक्तानी गरिएको छ । कम्पनीबाट उपलब्ध हुने बीमा लेखहरुलाई क्रमश डिजिटलाईज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए ।