विकासन्युज

पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ संचालक सुवेदीले दिए राजिनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ संचालक पुरुषोत्तम सुवेदीले राजिनामा दिएका छन् । संचालक सुवेदीले निजी व्यस्तताको कारणले स्वतन्त्र विज्ञ संचालक पदबाट राजिनामा दिएका हुन् । उनले गत साउन १४ गतेदेखि लागु हुने गरी राजिनामा दिएका थिए । कम्पनीको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी संचालक सुवेदीको राजिनामा स्वीकृत गरेको कम्पनी सचिव विष्णु प्रसाद उपाध्यायले जनाएका छन् । कम्पनीको सञ्चालक समितिको २९७ औं बैठक गत साउन १६ गते बसेको थियो ।

भारतकाे क्याबिनेट मन्त्रीको कोरोनाबाट मृत्यु

काठमाडा‌ैं । काेराेना भाईरस (काेभिड-१९) काे कारण भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनकाे आइतबार बिहान लखनऊको एसजीपीजीआई अस्पतालमा उपचारकाे क्रममा  मृत्यु भएको हाे । उनी साउन १ गते काेभिड-१९ बाट  संक्रमित भएकी थिइन् । कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बनेकी थिइन् । उनलाई गत वर्ष मन्त्री बनाइएको थियो ।  

कोभिड–१९: विदेशमा १ सय ८९ नेपालीको मृत्यु

काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै सङ्क्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ । यसैबीच सङ्घले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि सङ्घले जनाएको छ ।

भाेलीदेखि पर्सामा निषेधज्ञा

काठमाडाैं । साेमबारबाट पर्सा जिल्लाभरी लागु हुने भएकाे छ । काेराेना भाईरस (काेभिड-१९) संक्रमणको जोखिम बढेको भन्दै जिल्ला सुरक्षा समितिको बसेको बैठकले बिहान ५ बजेबाट लागु हुने गरी पूरा जिल्लामा निषेधज्ञा गर्ने निर्णय गरेको हो। यसअघि साउन १० गते वीरगन्जमा मात्र लागु हुनेगरी जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा जारी गरेको थियो। निषेधज्ञा अवधिभर औषधी पसल, स्वास्थ्य, खानेपानी, दुध, फोहोरमैला जस्ता अत्यावश्यक सेवा बाहेक अन्य संचालन गर्न नपाईने र औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने भनिएको छ। साथसाथै यस समयमा भारतसँग सीमा जोडिएका नाकाहरू तथा खुला सीमाबाट जुनसुकै मानिसहरूको आवगमन पनि निषेध गरिएको छ।    

सुनकाे मुल्य बढ्ने क्रम जारी, ताेलाकाे ९९ हजार ६ सय पुग्याे

काठमाडौं । सुनकाे मुल्य ९९ हजार ६ सय पुगेकाे छ । आईतबार ताेलाकाे ३ सयले बढेर प्रतितोला ९९ हजार ६ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे । शुक्रबार प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपैयाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

कर्णाली प्रदेश सरकारले विपद् पीडितलाई १ लाख दिने

कर्णाली । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको घरपरिवारलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट घर पूर्ण क्षति भएकाहरुको आवास निर्माणका लागि राहतस्वरुप रु एक लाख दिने निर्णय गरेको हो । विशेष गरी विपद्का मयमा नागरिकमा पर्न जाने क्षति र पीडालाई यथासम्भव सम्बोधन गर्न बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए । त्यसैगरी बैठकले विपद्बाट क्षति भएको घरपरिवारका लागि तीन महिना पुग्ने गरी खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता केसीले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीका अनुसार जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागि साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्ति सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय उक्त बैठकले गरेको छ ।

अपडेटः एनआरएन इन्फ्राइन्स्टक्चरको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा हालसम्म ५२ लाख ६८ हजार ४ सय २० कित्ता आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार १० बजेसम्ममा संस्थाकाे सेयरमा सो मात्राको आवेदन परेको हो । सो अवधिसम्ममा एक लाख ३० हजार ३ सय १ जना आवेदकले ५२ करोड ६८ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर माग गरेको छन् । जुन संस्थाले माग गरेको भन्द साँढे एक गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३१ लाख ६० हजार १ सय ८३ कित्ता सेयर माग गरेकाे हाे । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन् । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा पहिलो दिन कति पर्याे आवेदन ? एनआरएन इन्फ्रास्ट्रक्चरकाे आईपीओमा लगानी गर्नु कत्तिकाे उचित ? यस्ताे छ तथ्य र तर्क

झापाकाे अर्जुनधारा नगरपालिका पाँच दिनका लागि लकडाउन

झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी)को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो । केही दिनअघि अर्जुनधारा वडा नं १ का एक व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए । उहाँले सङ्क्रमित व्यक्तिसँग रहेकाहरूको कन्टयाक्ट ट्रेसिङ गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर बन्दाबन्दी नै गरेको जानकारी दिए । उनका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । तर सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ । मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने नपाउने उनले बताए । सङ्घसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्यरूपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ । नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिस लगायतका सेवा बन्द गरिने नगरप्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले जानकारी दिए । नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । पाँच दिनका लागि गरिएको यो व्यवस्था सङ्क्रमणका आधारमा थप गर्न सकिने बताइएको छ ।