समृद्धि र पोखराको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, यस्तो बन्नेछ सञ्चालक समिति
काठमाडौं । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सलाई एक आपसमा गाभ्ने (मर्जर) प्रक्रियाका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले दुवै संस्थाबीच भएको मर्जर सम्झौता तथा प्रक्रिया पूरा भएपछि वैशाख २९ गते अन्तिम अनुमति दिएको हो । अब मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्नेछन् । राष्ट्र बैंकका अनुसार मर्जरपछि कायम हुने संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा सम्बन्धित विनियमावली र राष्ट्र बैंकका सम्पूर्ण निर्देशनहरूको पूर्ण पालना गर्नुपर्नेछ । त्यस्तै, दुवै संस्थाको सेयर स्वाप अनुपात १:१ रहने गरी पुँजी मिलान गर्नुपर्ने, धितोपत्र सूचीकरण प्रक्रिया पूरा गर्नुपर्ने तथा मर्जरपछि बनेको संस्थाको सेयर कारोबार एकीकृत रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको पुतलीसडकमा रहनेछ भने रजिष्टर्ड कार्यालय गण्डकी प्रदेशको पोखरा महानगरपालिका-९ मा रहनेछ । राष्ट्र बैंकले मर्जरपछि शाखा कार्यालयको व्यवस्थापन, स्थानान्तरण वा गाभ्ने विषयमा आवश्यकता अनुसार पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पनि गरेको छ । त्यस्तै, मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्राप्त भएको १५ दिनभित्र एकीकृत कारोबार सुरु हुने मिति सार्वजनिक गर्नुपर्ने र १ महिनाभित्र पूर्ण रूपमा एकीकृत कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो बन्नेछ मर्जरपछि सञ्चालक समिति मर्जरपछि बन्ने पोखरा फाइनान्सको सञ्चालक समितिको टुंगो लागिसकेको छ । मर्जपछि बन्ने सञ्चालक समिति सात सदस्यीय हुनेछ । समृद्धि फाइनान्सबाट चार जना र पोखरा फाइनान्सबाट तीन जना सञ्चालक रहने सहमति भएको छ । समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे सञ्चालक बन्नेछन् । हालका अध्यक्ष अजय मिश्र गाभिएपछि पनि अध्यक्ष बन्ने स्रोतले जनाएको छ । विनोद कुमार सुवेदी र रोशन पन्त भने बाहिरिने छन् । पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ सञ्चालक बन्नेछन् । हालका अध्यक्ष राजकुमार गुरुङ र गंगा घले भने बाहिरिनेछन् । मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश गुरुङ बन्ने सहमति भएको छ । कर्मचारी व्यवस्थापन आन्तरिक रूपमा भइरहेको कम्पनीले जनाएको छ । कर्मचारीहरू हाल जुन पदमा छन्, सोही पदमा रहने र सेवा-सुविधामा कुनै कटौती नहुने स्पष्ट पारिएको छ । कर्मचारी संख्या करिब ३ सय पुग्नेछ, जसमा पोखरा फाइनान्सका करिब २ सय र समृद्धिका करिब १ सय कर्मचारी समाहित हुनेछन् । मर्जरपछि शाखा सञ्जाल ३६ वटा पुग्नेछ ।
अनार किलोको ५०० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो (लाम्चो) प्रतिकिलो रु २८, आलु रातो (गोलो) प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १६०, तीते करेला प्रतिकिलो रु ८०, लौका प्रतिकिलो रु ५५, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ४५, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ९०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १००, तोरीसाग प्रतिकिलो रु ३५, चमसुरको साग प्रतिकेजी रु १००, मेथीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४२०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४००, ब्रोकाउली प्रतिकिलो रु १४०, चुकुन्दर प्रतिकिलो रु ६५, निगुरो प्रतिकिलो रु ८०, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २६०, सेलरी प्रतिकिलो रु ११०, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३५०, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १६०, नरिवल हरियो प्रतिकिलो रु १७०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, माछे खुर्सानी प्रतिकिलो रु ७०, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, माछा (सुकेको) प्रतिकेजी रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु २८० निर्धारण गरिएको छ ।
जीवन बीमाको नाफा साढे ४ अर्ब, १० कम्पनीको बढ्दा पनि ५.५५ प्रतिशत घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा जीवन बीमा कम्पनीहरूको नाफा करिब ५.५५ प्रतिशतले घटेको छ । सार्वजनिक भएका १४ वटा जीवन बीमा कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कुल खुद नाफा ५.५५ प्रतिशतले घटेर ४ अर्ब ५९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यी कम्पनीहरूले ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ नाफा कमाएका थिए । यस अवधिमा १० कम्पनीको नाफा बढेको छ भने ४ कम्पनीको नाफा घटेको देखिएको छ । नाफा वृद्धिका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल अगाडि रहेको छ । कम्पनीको नाफा ३५.७७ प्रतिशतले बढेर ३२ करोड ४ लाख ६७ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको २३ करोड ६० लाख २२ हजार रुपैयाँभन्दा बढी हो । त्यस्तै सूर्यज्योति लाइफको नाफा ११.६९ प्रतिशतले बढेर ३३ करोड ३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । एशियन लाइफले ३.७८ प्रतिशतले वृद्धि गर्दै ३४ करोड ७३ लाख ८६ हजार रुपैयाँ, सन नेपाल लाइफले ३.३५ प्रतिशतले बढेर ३४ करोड २३ हजार रुपैयाँ, नेशनल लाइफले १.९८ प्रतिशतले बढेर ४१ करोड ६६ लाख २९ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १.६१ प्रतिशत बढेर २५ करोड ७० लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यसैगरी रिलायबल नेपाल लाइफको नाफा ०.९९ प्रतिशतले बढेर ४७ करोड ४ लाख १७ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफको ०.९४ प्रतिशतले बढेर ३४ करोड ८ लाख ५८ हजार रुपैयाँ, सिटिजन लाइफको ०.६६ प्रतिशतले बढेर ३६ करोड ४४ हजार रुपैयाँ र आईएमई लाइफको ०.४३ प्रतिशतले बढेर ३६ करोड ७९ लाख १६ हजार रुपैयाँ पुगेको छ । तर केही कम्पनीको नाफा भने घटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सबैभन्दा धेरै ७३.९४ प्रतिशतले घटेर ४० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै हिमालयन लाइफको नाफा ४४.६५ प्रतिशतले घटेर २६ करोड १४ लाख ४४ हजार रुपैयाँ, नेपाल लाइफको २७.४० प्रतिशतले घटेर ४५ करोड ४८ लाख ९४ हजार रुपैयाँ र अमेरिकन मेट लाइफको १२.३३ प्रतिशतले घटेर ३० करोड २५ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ ।
महेन्द्र राजमार्ग अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम
काठमाडौं । सडक डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरले महेन्द्र राजमार्गअन्तर्गत चिसापानी-अत्तरिया-गड्डाचौकी सडक खण्डको सडक क्षेत्रभित्र भएका अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको छ । सडक डिभिजन महेन्द्रनगरले सडक केन्द्रबाट दायाँ-बायाँ २५/२५ मिटर क्षेत्र सडक सीमाभित्र पर्ने जनाएको छ । कार्यालयले सडक विभागको स्वीकृति बिना स्थायी तथा अस्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री थुपार्ने, मालवस्तु बिक्रीका लागि राख्ने, नालो पुरेर प्रवेश मार्ग बनाउने, सडक संरचना भत्काउने तथा ढल वा पानी सडक किनारको नालामा मिसाउने जस्ता कार्य सार्वजनिक सडक ऐन, २०३१ अनुसार निषेध गरिएको उल्लेख गरेको छ । सडक सीमाभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । कार्यालयले तोकिएको अवधिभित्र अतिक्रमित संरचना नहटाइए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को उपदफा (३) बमोजिम सडक डिभिजन कार्यालय आफैंले हटाउने र त्यसबापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ ।
काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ छात्रवृत्ति परीक्षाको आवेदन खुला
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाले शैक्षिक सत्र २०८३÷८४ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको छ । छात्रवृत्तिका लागि आवेदन फाराम जेठ १ गतेदेखि भर्न सकिनेछ भने आवेदन दिने अन्तिम समय जेठ १० गतेसम्म तोकिएको छ । महानगरपालिकाका अनुसार विद्यार्थीहरूले काठमाडौं महानगरपालिकाको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जनाइएको छ । महानगरपालिकाले विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत जानकारी महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ ।
रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी
काठमाडौं । होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित बन्दै जाँदा स्तरीय होटल थपिने क्रम निरन्तर बढेको हो । भैरहवा-लुम्बिनी करिडोर तथा जिल्लाका मुख्य सहर क्षेत्रमा पाँचतारे, चारतारे र तीनतारे होटल सञ्चालनमा आएका छन् भने नयाँ होटल निर्माणसमेत जारी छ । लुम्बिनी आउने पर्यटकका साथै काठमाडौं, पोखरा, चितवन र बर्दिया जाने पर्यटक पनि भैरहवा हुँदै आवतजावत गर्दा जिल्लामा बसोबास गर्ने क्रम बढेको व्यवसायी बताउँछन् । सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले रुपन्देहीमा पाँचतारे होटलको सङ्ख्या उल्लेख्य रहेको बताए । उनले जिल्लामा सञ्चालनमा रहेका ठूला होटलसँगै थप नयाँ परियोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । हाल जिल्लामा हायात प्यालेस, टाइगर प्यालेस बाइ सोल्टी, भिलासा र लुम्बिनी हेरिटेज सञ्चालनमा छन् । भैरहवा-लुम्बिनी सडक खण्डमा नयाँ पाँचतारे होटल निर्माण भइरहेको छ भने भैरहवाको बुद्धचोकमा अर्को पाँचतारे होटल अन्तिम चरणमा पुगेको बताइएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष राजेश महोत्राले भारतीय पर्यटकलाई लक्षित गरेर होटल क्षेत्रमा ठूलो लगानी भइरहेको बताए । उनले सीमावर्ती भारतबाट आउने पर्यटकको सङ्ख्या उच्च रहेकाले रुपन्देहीलाई विश्राम तथा गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । पर्यटन व्यवसायी किशोर जोशीले जिल्लामा पर्यटकको बसाइ अवधि बढाउन थप आकर्षक गतिविधि, सांस्कृतिक कार्यक्रम र पर्यटन प्याकेज आवश्यक रहेको बताए । उनका अनुसार लुम्बिनी भ्रमणपछि धेरै पर्यटक सोही दिन फर्किने भएकाले बसाइ लम्ब्याउन सकिए आर्थिक गतिविधि अझै बढ्नेछ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठनका पूर्वअध्यक्ष अनिल ज्ञवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रुपन्देहीमा प्रवेश गर्न थालेपछि जिल्लाको पर्यटन छवि थप बलियो बनेको बताए । उनले हायात, मेरियट, होलिडे इन र क्राउन प्लाजाजस्ता अन्तर्राष्ट्रिय ब्रान्डको चासोले लगानीकर्तामा उत्साह थपिएको उल्लेख गरे । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटलमा लगानी बढेको छ । भैरहवा र बुटवल क्षेत्रमा तारेहोटल, रिसोर्ट तथा क्यासिनोसमेत सञ्चालनमा आएसँगै रुपन्देही प्रदेशकै प्रमुख पर्यटन तथा आतिथ्य केन्द्रका रूपमा उदाउँदै गएको सरोकारवालाको भनाइ छ ।
प्रतिनिधि र राष्ट्रिय सभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए । आजको बैठकमा पनि सांसदहरूले नीति तथा कार्यक्रममाथि छलफल जारी राख्नेछन् । छलफलपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । चालु अधिवेशनमै सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट पनि संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ । त्यसैगरी, राष्ट्रिय सभाको बैठक पनि आज दिउँसो १२:१५ बजे बस्ने तय भएको छ । राष्ट्रिय सभामा समेत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।
बागमती र गण्डकीमा हल्का वर्षा हुँदै, यी प्रदेशमा चट्याङसहित वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भू-भागमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशसहित अन्य हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही जिल्लामा हुरीबतास, असिना, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।