काठमाडौं महानगरको छात्रवृत्तिमा २६ हजार बढीको आवेदन, त्रुटि सच्याउन २ दिनको समय
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति पाउनका लागि २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएका छन् । महानगरपालिकाको शिक्षा विभागका अनुसार आवेदन दिनेहरूमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र ६ जना अन्य रहेका छन् । २३ हजार बढीको आवेदन स्वीकृत, त्रुटि सच्याउन आग्रहप्राप्त आवेदनहरूमध्ये हालसम्म २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । बाँकी आवेदकहरूमध्ये ३ हजार ३०२ जनाको विवरणमा त्रुटि देखिएकाले त्यसलाई सच्याउन महानगरले आग्रह गरेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउनुपर्ने विद्यार्थीहरूलाई उनीहरूको मोबाइल र इमेलमार्फत सूचित गरिसकिएको छ । त्रुटि भएका आवेदकहरूले विवरण सच्याएर पुनः पेश गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र आवश्यक कागजात वा विवरण अपलोड नगरेमा आवेदन स्वतः रद्द हुनेछ । हालसम्म आवश्यक प्रक्रिया नपुर्याएका, सबै ठाउँमा एउटै डकुमेन्ट राखेका तथा अनावश्यक कागजात संलग्न गरेका ८४ जनाको आवेदन अस्वीकृत भइसकेको छ । जेठ १३ गतेसम्म आवेदन फाराम स्वीकृत गर्ने प्रक्रिया जारी रहने महानगरले जनाएको छ । छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीहरूमध्ये सबैभन्दा ठूलो संख्या विज्ञान विषय अध्ययन गर्न चाहनेहरूको छ । विज्ञानमा १८ हजार ९९६, व्यवस्थापनमा ७ हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जना विद्यार्थी रहेका छन् । विद्यार्थी र अभिभावकका लागि सहायता कक्षअनलाइन प्रणालीमार्फत आवेदन दिन कठिनाइ महसुस गर्ने विद्यार्थी र अभिभावकहरूलाई सहजीकरण गर्न महानगरको शिक्षा विभागमा सहायता कक्ष स्थापना गरिएको छ । त्यहाँबाट आवश्यक प्राविधिक सहयोग लिन सकिनेछ । प्रवेशपत्र र परीक्षा प्रणाली आवेदन स्वीकृत भएका विद्यार्थीहरूले जेठ १४ गते बिहान १० बजेपछि फाराम भरेकै वेबसाइटमा गएर आफ्नो प्रवेश पत्र डाउनलोड गरी कलर प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र र परीक्षा सम्बन्धी अन्य विस्तृत विवरण प्रवेश पत्रमै उल्लेख हुनेछ।कक्षा १० सम्मको छात्रवृत्ति वडास्तरीय समितिको सिफारिसमा हुने गरे पनि कक्षा ११ र १२ को हकमा भने शिक्षा विभागले परीक्षा सञ्चालन गर्नेछ । परीक्षापछि योग्यता क्रम र म्याचिङ लिष्टका आधारमा विद्यार्थीको नाम सिफारिस गरिनेछ। यसरी छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नुपर्ने छैन ।
मानसरोवर जाँदै गरेका मगर १४ हजार ५ सय डलरसहित पक्राउ
काठमाडौं । रसुवामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ रसुवा उत्तरगया गाउँपालिका ५ बेत्रावती बजारस्थित पासाङ ल्हामु सडकखण्डमा ३९ वर्षीय मिनबहादुर मगर पक्राउ परेका हुन्। काठमाण्डौंबाट टिमुरेतर्फ जाँदै गरेको बा. प्र. ०१००६ ख ७६०७ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा ओखलढुङ्गा ठुलाछाप गाउँपालिकाका मगरलाई पक्राउ गरिएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु शाहले जानकारी दिए । मानसरोवर जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनीसँग ८ जना मलेसियन पर्यटक रहेको प्रवक्ता शाहले जानकारी दिए । शाहले मगरलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको जानकारी दिए । केही दिनअघि रसुवाबाटै ४३ हजार अमेरिकन डलरसहित सुशील गुरुङ पक्राउ परेका थिए ।
अटोचालकको पेसामा महिलाको आकर्षण, आत्मनिर्भरतातर्फ अघि बढ्दै
कर्णाली । पछिल्लो समय अटोचालक व्यवसायमा महिलाहरू आकर्षित हुँदै गएका छन् । सुर्खेतमा १०० भन्दा बढी महिला अटो चालक पेसामा आबद्ध छन् । सहर पसेसँगै उनीहरुले श्रम, सीप र साहसका साथ पेसालाई आत्मनिर्भर बनाउँदै लगेका छन् । जसबाट उनीहरुको दैनिकी मात्र चलेको छैन, भविष्यका लागि बचत समेत गर्न सफल भएका छन् । महिलालाई आत्मनिर्भरतर्फ उन्मुख राखिराख्न कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ५४ अटोचालक महिलालाई यहाँ तालिम प्रदान गरेको छ । अटोचालकहरु कार्यक्रममा सहभागी मात्र भएनन्, त्यहाँ उनीहरुले पेसाको जोखिम, समाजले उनीहरुप्रति राख्ने दृष्टिकोण, गर्ने व्यवहार र सामना गर्नुपरेको चुनौतिका बारेमा खुलेर आ–आफ्नो धारण राखेका थिए । कार्यक्रममा अटो चालक सुशीला सापकोटाले समाजमा महिलाले पनि चुनौतीपूर्ण कामलाई अवसरमा ढाल्न सक्ने र उनीहरु कमजोर नभएको तर्क गरे । तालिम कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पेसालाई माया गर्न र व्यबसाय प्रति प्रतिबद्ध भएर कर्म गर्न सुझाव दिए । कर्णाली महिला स्वास्थ्य क्लिनिक सुर्खेतका प्रमुख तथा कर्णाली प्रदेश अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा डा ललित शाहीले महिला अटोचालकलाई बच्चा र आमाको स्वास्थ्य अवस्था ठिक राख्न बेला बेलामा अस्पतालमा जाँच गर्नसमेत सल्लाह दिए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले महिला अटोचालकको व्यवसायलाई मर्यादित, सम्मानित र सुरक्षित बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अधिकृत खगेन्द्रप्रकाश गैरेले महिला अटोचाललाई मानसिक र नसर्ने रोगका बारेमा जानकारी दिए । मानसिक रोगका कारण कर्णालीमा दैनिक एकजनाले आत्महत्या गरेको बताउँदै उनले अस्पतालमा १२ प्रकारका औषधि निःशुल्क पाइनेबारे जानकारी दिए ।
तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ग्लोबल इनर्जी सप्लाई (विश्वव्यापी ऊर्जा आपूर्ति) का मार्गहरूमा दबाब बढेको छ । यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका ठूला तेल कम्पनीहरूले फारसको खाडीबाट ऊर्जाको आवश्यकता भएका देशहरूसम्म आफ्नो तेल र ग्यास पुर्याउन एक फरक प्रकारको शिपिंग रणनीतिको सहारा लिइरहेका छन् । यूएईको सरकारी तेल कम्पनी एडनक विश्वकै सबैभन्दा संवेदनशील समुद्री मार्गहरूमध्ये एक हर्मुज स्ट्रेटबाट गुज्रिरहेको छ । यो त्यस्तो ठाउँ हो जहाँ क्षेत्रीय तनाव बढिरहेका बेला इरानी सेना र अमेरिकी नौसेनाका गस्ती टोलीहरू एक-अर्काको निकै नजिक रहेर काम गर्छन् । ब्लूमबर्गद्वारा सार्वजनिक गरिएको जहाज ट्र्याकिङ डेटा र यस मामिलाका जानकार व्यक्तिहरूका अनुसार यूएईको सरकारी ऊर्जा कम्पनीले ‘डार्क ट्रान्जिट’ मा भरोसा गरेको छ। डार्क ट्रान्जिट यस्तो यात्रा हो जसमा जहाजहरू हर्मुज स्ट्रेटबाट गुज्रँदा आफ्नो ट्रान्सपोन्डर (सिग्नल यन्त्र) बन्द गरिदिन्छन् । यसले तेल ट्याङ्करहरूलाई वास्तविक समयमा ट्र्याक हुन वा समातिनबाट जोगिन मद्दत गर्छ । सजिलो शब्दमा भन्नुपर्दा जहाजहरूको यात्रा अँध्यारोमा वा लुकेर सुरु हुन्छ । यो रणनीतिले अहिलेसम्म भू–राजनीतिक जोखिमका समयमा पनि निर्यातलाई निरन्तरता दिन मद्दत गरेको छ । भाडाका जहाजहरूमा निर्भर रहने धेरै क्षेत्रीय उत्पादकहरू र कमोडिटी व्यापारीहरूको विपरीत एडनकले आफ्नै जहाजको फ्लिटमा भरोसा गरेको छ । यस फ्लिटमा नाभी जी ८ मार्फत सञ्चालन हुने जहाजहरू पनि सामेल छन्, जसमा एडनकको शिपिङ र लजिस्टिक शाखाको मुख्य हिस्सेदारी छ । साथै वान्हुआ केमिकल ग्रुपसँग पनि उसको संयुक्त उद्यम रहेको छ । यस फ्लिटमा कच्चा तेल बोक्ने जहाज, रिफाइन्ड उत्पादनका ट्याङ्कर र ग्यास ढुवानी गर्ने जहाजहरू सामेल छन् । यसले कम्पनीलाई काम गर्न थप लचकता प्रदान गर्दछ । उद्योग सम्बद्ध स्रोतहरूका अनुसार यस व्यवस्थाका कारण एडनकले जहाजहरूबाट सामानको आवतजावतलाई धेरै हदसम्म जारी राख्न सकेको छ । अर्कोतर्फ अन्य कम्पनीहरूले भने जहाज मालिकहरूको जोखिम मोल्ने क्षमताको कमीका कारण उत्पन्न अवरोधहरूको सामना गरिरहेका छन् । कतारले पनि हर्मुजको बाटो भएर आफ्नो निर्यात जारी राखेको छ । यो खाडी क्षेत्रका उत्पादकहरू विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्गहरूमध्ये एकमा परिवर्तन भइरहेको परिस्थितिसँग आफूलाई अनुकूल बनाउँदैछन् भन्ने कुराको संकेत हो । जहाजहरूको डेटा अनुसार हालै एउटा एलएनजी ट्याङ्कर ‘अल रयान’ हर्मुज स्ट्रेटबाट गुज्रिएपछि मस्कटको उत्तरमा देखिएको थियो । यो चीनतर्फ जाँदै थियो । यद्यपि, यस महिनाको सुरुमा कतारको ‘रास लफान’ प्लान्ट नजिकै यसले केही समयका लागि आफ्नो सिग्नल पठाउन बन्द गरेको थियो । जहाजहरूले ‘स्टेल्थ नेभिगेसन’ (लुकेर चल्ने) तरिकाहरू अपनाउँदै जाँदा यसरी बीच–बीचमा सिग्नल गायब हुनु अचेल सामान्य कुरा भएको छ । एडनकको रणनीतिमा छोटो समयको ‘शटल रन’ पनि सामेल छ । यसमा जहाजहरू सामान पु¥याउनासाथ तुरुन्तै फर्किन्छन् ताकि उनीहरूले फेरि सामान भर्न सकून् । यसले जिरकु टापु र रुवैस रिफाइनरी कम्प्लेक्स जस्ता टर्मिनलहरूबाट सामानको आवतजावतलाई बढीभन्दा बढी बढाउन मद्दत गर्दछ । जहाजहरू बीच सामानको आदानप्रदान (शिप–टु–शिप ट्रान्सफर) फुजैराह वा सोहर नजिकैको सुरक्षित समुद्री क्षेत्रमा वा भारतको पश्चिमी तटतर्फ जाँदै गर्दा गर्ने गरिएको बताइन्छ । एलएनजी सञ्चालनको मामिलामा पनि यस्तै प्रकारको गोप्य आवतजावत देखिएको छ । ट्याङ्करहरू फुजैराहनजिकै स्ट्रेटमा प्रवेश गर्छन् । त्यसपछि दास टापुतर्फ जाँदा ट्र्याकिङ सिस्टमलाई निष्क्रिय बनाइदिन्छन् । दास टापु खाडीभित्र एडनकको प्रमुख निर्यात हब हो । ब्लूमबर्गले विश्लेषकहरूलाई उद्धृत गर्दै लेखेको छ कि यो दृष्टिकोणले रणनीतिक गम्भीरता र व्यवस्थापकीय (लजिस्टिक) आवश्यकतालाई दर्साउँछ । यसको कारण के हो भने भण्डारण (स्टोरेज) को अभाव र भू–राजनीतिक अनिश्चितताले उत्पादकहरूलाई निर्यात जारी राख्न बाध्य पारिरहेको छ । यद्यपि यस्ता शिपमेन्टहरूको परिमाण द्वन्द्व–पूर्वको स्तरभन्दा तल नै रहेको छ । विशेष गरी एलएनजी व्यापारमा जहाँ सामान्य दैनिक प्रवाहको तुलनामा हालका महिनाहरूमा केही क्रसिङहरूको मात्र पुष्टि भएको छ । कम भिजिबिलिटी भएको नेभिगेसनमा निर्भरताले कार्गो मार्गहरूको प्रमाणीकरणलाई पनि जटिल बनाउँछ । यसले गर्दा जहाजहरूले वैकल्पिक मार्गहरू चयन गर्न सक्छन् वा इरानको प्रभाव रहेको जलक्षेत्रबाट गुज्रन सक्छन् जहाँ अनौपचारिक व्यवस्थाहरू लागू हुन सक्छन् । यो अस्पष्टताका बाबजुद पनि यो ट्रेन्डले उत्पादकहरू हर्मुज स्ट्रेटमार्फत महत्त्वपूर्ण ऊर्जा आपूर्ति कायम राख्न कसरी व्यवस्था मिलाउँदैछन् भन्ने कुरा स्पष्ट पार्छ । अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति
प्रधानमन्त्रीले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त मंगलबार भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि गत चैत २५ गते प्रधानमन्त्रीले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।
इरानसँगको सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता प्रक्रियामा हतार नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएका छन् । समय आफ्नै पक्षमा रहेको उल्लेख गर्दै उनले वार्तालाई निष्कर्षमा पुर्याउन हतारिनु आवश्यक नरहेको बताएका हुन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले सम्झौता सम्पन्न नभएसम्म, यसको प्रमाणीकरण नभएसम्म र अन्तिम हस्ताक्षर नहुन्जेल नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहने बताए । उनले सम्झौताका लागि दुवै पक्षले पर्याप्त समय लिएर सही निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । राष्ट्रपति ट्रम्पले इरानलाई कुनैपनि हालतमा परमाणु हतियार विकास गर्न वा प्राप्त गर्न नदिने आफ्नो अडान पुनः दोहोर्याए । उनले हाल भइरहेको वार्ता प्रक्रिया व्यवस्थित र रचनात्मक ढंगले अघि बढिरहेको समेत जानकारी दिए । यसैबीच, इजरायली सरकारी स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा बन्द नभएसम्म र आफ्नो क्षेत्रबाट सम्पूर्ण संवद्र्धित युरेनियम नहटाएसम्म कुनैपनि अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने आश्वासन दिएका छन् । अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले शनिबार इरान र अमेरिका युद्ध अन्त्यका लागि समझदारी पत्रलाई अन्तिम रूप दिन प्रयासरत रहेको बताएका थिए ।
समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको हो । समितिले सोमबार सूचना जारी गर्दै सरकारबाट विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको नामावली सार्वजनिक गरेको हो । समितिको पछिल्लो निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो । साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका ऋणीलाई सप्रमाण कार्यालयमा उपस्थित हुन समितिले आग्रह गरेको छ । यसैगरी, हालसम्म ऋण चुक्ता नगरेका ऋणीलाई यथाशीघ्र बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा कानुनबमोजिम कडा कारबाही गरी असुलउपर गरिने समितिद्वारा जारी सूचनामा उल्लेख छ ।
सिद्धार्थ बैंकले तनहुँका १२ विद्यालयलाई दियो स्मार्ट बोर्ड
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यू.डब्लु.एस. नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बालबालिका राष्ट्रका कर्णधार भएको उल्लेख गर्दै बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सामुदायिक विद्यालयहरूमा स्मार्ट बोर्ड वितरण गरेको जनाएको छ । यस पहलमार्फत विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने लक्ष्य राखिएको छ । उक्त प्रविधिमैत्री सहयोगबाट १२ विद्यालयका प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठा शिक्षणलाई दृश्यात्मक तथा अन्तरक्रियात्मक बनाउँदै भिडियो, चित्र तथा डिजिटल सामग्रीमार्फत सिकाइ प्रक्रिया अझ प्रभावकारी र रोचक बन्ने विश्वास लिइएको छ । बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै समाज विकासमा योगदान पुर्याउने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने योजना रहेको बैंकले जनाएको छ ।