काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क र महाराजगञ्ज क्षेत्रको तार भूमिगत गरेपछि ९० हजार स्मार्ट मिटर जडान गरिने तयारी गरेको छ । उपत्यकाको वितरण तथा प्रसारण प्रणाली सुधार गर्न प्राधिकरणले यस्तो योजना अघि सारेको हो ।

उपत्यकालाई तार रहित बनाउने योजना अनुसार पहिलो चरणमा महाराजगन्जको काम अघि बढाउन लागेको हो । सो योजना अन्तर्गत महाराजगन्ज क्षेत्रको वितरण प्रणाली भूमिगत बनाउन प्राधिकरणले बोलपत्र (ठेक्का) आह्वान गरेको छ । उपत्यकाका तिनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको वितरण प्रणाली तार रहित बनाउने योजना अनुसार पहिलो चरणमा महाराजगन्जको काम अघि बढाउन लागेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । पहिलो चरणमा उक्त क्षेत्रको ११ केभी र ४ सय भोल्ट लाइन भूमिगत गर्ने उनको भनाइ छ ।
विद्यमान प्रणाली भन्दा भूमिगत वितरण प्रणाली खर्चिलो हुने भएकाले शुरुमा मुख्य मुख्य सडक लक्षित गरिएको हो । आइतबार महाराजगञ्ज क्षेत्रको तार भुमिगत गर्ने योजना सहित प्राधिरकणले ६० दिने सूचना निकालेको हो । उक्त क्षेत्रमा विद्युत चुहावट कमगर्ने ट्रान्सफर्मर समेत जडान गरिनेछ ।
साथै, साउन अन्त्यसम्म रत्नपार्कको वितरण प्रणाली भूमिगत बनाउन तथा स्मार्ट मिटर जडान गर्न पनि ठेक्का गरिने प्राधिकरणको योजना छ । रत्नपार्क र महारागन्ज क्षेत्र भूमिगत भएपछि ९० हजार स्मार्ट मिटर जडान गर्ने प्राधिरणले बताएको छ । उपत्यकाको वितरण तथा प्रसारण प्रणाली सुधार गर्न एशिलायी विकास बैंक (एडीबी) ले १८ अर्ब ५४ करोड रुपैयाँ ऋण सहयोग गरेको छ ।