काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले लगातार तेस्रो पटक दक्षिण एसियाली लेखापाल महासंघ (साफा) अवार्ड प्राप्त गरेको छ ।
बैंकलाई वित्तीय सेवा क्षेत्रतर्फ ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ प्रदान गरिएको हो । आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका आधारमा बैंकले यो सम्मान पाएको हो ।
बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको हो । बैंकले वार्षिक प्रतिवेदनमा शेयरधनी तथा सरोकारवालालाई वित्तीय विवरण स्पष्ट र उत्कृष्ट रूपमा प्रस्तुत गरेको थियो ।
बंगलादेशको ढाकामा आयोजित समारोहमा बैंकलाई अवार्ड प्रदान गरिएको हो ।
बैंकले यसअघि पनि साफा अवार्ड प्राप्त गरेको थियो । साथै, बैंकको वित्तीय प्रतिवेदनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४ र २०२५ मा वित्तीय सेवा क्षेत्रतर्फ गोल्ड अवार्ड प्राप्त गरेको थियो ।
साफाले दक्षिण एसियाका विभिन्न देशमा प्रकाशित वित्तीय प्रतिवेदनको मूल्यांकन गरी हरेक वर्ष विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ ।