वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल बन्ने

काठमाडौं । वीर अस्पतालका पुरानो र नयाँ भवनबीच बिरामी ओसारपसार गर्न सहज बनाउने उद्देश्यले लिफ्टसहितको आकासे पुल निर्माण हुने भएको छ । 

काठमाडौं महानगरपालिकाले ४ करोड ७१ लाख रुपैयाँभन्दा बढी लागतमा अस्पतालका दुई भवन जोड्ने पुल बनाउन लागेको हो ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पुल निर्माणको शिलान्यास गरिन् । पुल निर्माणका लागि ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
 
वीर अस्पतालका पुरानो र नयाँ भवनको बीचमा महाबौद्धतर्फ जाने मुख्य सडक रहेकाले एक भवनबाट अर्को भवनमा बिरामी लैजान सडक पार गर्नुपर्ने बाध्यता छ । 

विशेषगरी मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा बिरामी लैजाँदा सडक प्रयोग गर्नुपर्ने अवस्था छ । आकासे पुल निर्माण भएपछि बिरामीलाई सडकबाट वारपार गराउनुपर्ने समस्या हट्ने बताइएको छ ।

उक्त पुलको दुवै छेउमा लिफ्ट जडान गरिनेछ । ती लिफ्टबाट बिरामीलाई शैयासहित एक भवनबाट अर्को भवनमा लैजान सकिने व्यवस्था मिलाइने जनाइएको छ । 

अस्पताल परिसरभित्रै लिफ्टसँगै भर्याङसमेत निर्माण गरिने काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए ।

Share News