काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको हानिनोक्सानी सम्बोधन गर्न सरकारले परियोजना प्रस्ताव आह्वान गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक सूचना जारी गर्दै भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्लाभ तथा क्षति सम्बोधनसम्बन्धी परियोजनाका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
मन्त्रालयका अनुसार गत भदौ १० गते (अगस्ट २६) भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको हानिनोक्सानी सम्बोधन गर्ने उद्देश्यले ’हानि तथा नोक्सानी कोष’ को विशेष बोर्ड बैठक बसेको थियो । सोही बैठकको निर्णयबमोजिम कोषमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रमाणीकरण (एक्रेडिटेसन) प्राप्त गरेका संस्थाहरूलाई परियोजना प्रस्ताव पेश गर्न सूचित गरिएको हो ।
इच्छुक तथा योग्य प्रमाणीकरण प्राप्त संस्थाहरूले तोकिएको मापदण्डअनुसार प्रस्ताव पेश गर्न सक्ने मन्त्रालयले जनाएको छ । बाढीका कारण रसुवाको भोटेकोशी तटीय क्षेत्रमा भौतिक पूर्वाधार, कृषि तथा जनजीवनमा ठूलो क्षति पुगेको थियो ।
