नदी किनारबाट उठाइएका सुकुम्वासीलाई होल्डिङ सेन्टर पनि खाली गर्न सरकारको अल्टिमेटम

काठमाडौं । वैकल्पिक बसोबासको व्यवस्था नगरी सरकारले नदी किनारबाट उठाइएका सुकुम्वासीलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टर समेत खाली गर्न अल्टिमेटम दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै मध्यपुर थिमि नगरपालिकास्थित वोडेको कृषि विकास तालिम केन्द्रमा बनाइएको होल्डिङ सेन्टर दुई दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काद्वारा जारी सूचनामा आगामी मंसिर ११ गते दिउँसो २ बजेसम्म सो स्थान छाडिसक्न भनिएको छ ।

उक्त होल्डिङ सेन्टरमा हाल १९ परिवार आश्रय लिएर बसिरहेका छन् । प्रशासनले गरेको छानबिनका क्रममा तीमध्ये ७ परिवारको पुख्र्यौली थलोमा जग्गा रहेको पाइएको छ भने बाँकी १२ परिवारका नाममा कतै पनि जग्गा नदेखिएको सूचनामा उल्लेख छ । यद्यपि, जग्गा भएका र भूमिहीन ठहरिएका सबै परिवारलाई एकैसाथ होल्डिङ सेन्टर खाली गर्न उर्दी जारी गरिएको छ ।

“भूमिहीन नठहरिने भएका र जग्गा नदेखिएका सम्पूर्ण व्यक्तिहरूलाई यही मिति २०८३ मंसिर ११ गते दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर खाली गर्न हुन सूचित गरिन्छ,” प्रशासनको सूचनामा भनिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा गत वैशाख १२ गतेदेखि काठमाडौंका विभिन्न नदी किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर चलाएर हटाइएको थियो । त्यतिबेला बस्तीबाट विस्थापित भएका परिवारलाई विभिन्न स्थानका होल्डिङ सेन्टरमा राख्दै तीन महिनाभित्र स्थायी बसोबासको व्यवस्था मिलाउने आश्वासन दिइएको थियो ।

तर, विस्थापित भएको सात महिना बितिसक्दा पनि बसोबासको कुनै टुङ्गो नलगाई उल्टै आश्रय लिइरहेको ठाउँबाट समेत हटाउन खोजिएपछि सुकुम्वासी परिवार थप बिचल्लीमा पर्ने देखिएको छ ।

Share News