काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उत्पादन, लगानी र उद्यमशीलतालाई आर्थिक समृद्धिको मुख्य आधार बताएका छन् । उनले स्वदेशी उद्योगको विकास र उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
१२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले नेपाल प्राकृतिक स्रोत र सम्भावनाले सम्पन्न भए पनि उत्पादन क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको बताए ।
उत्पादन गर्न सकिने वस्तुसमेत आयात गर्नुपर्ने अवस्था, युवाहरू रोजगारीका लागि विदेशिनु र पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्नु अर्थतन्त्रका प्रमुख चुनौती रहेको उनको भनाइ छ ।
उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरी व्यापार घाटा घटाउन, रोजगारी सिर्जना गर्न, राजस्व बढाउन र आयात प्रतिस्थापन गर्न कठिन हुने बताए ।
अग्रवालका अनुसार निजी क्षेत्रले प्रशासनिक झन्झट, प्रक्रियागत ढिलाइ, उत्पादन लागत वृद्धि, औद्योगिक जग्गा प्राप्तिमा कठिनाइ, वातावरणीय स्वीकृति र पूर्वाधार निर्माणमा ढिलाइ जस्ता समस्या भोगिरहेको छ ।
सरकारले अघि सारेका कानुनी सुधारका प्रयासलाई सकारात्मक रूपमा लिँदै उनले निजी क्षेत्रलाई नियन्त्रण गर्नेभन्दा सहजीकरण र प्रोत्साहन गर्नुपर्ने बताए । लगानीकर्तालाई विकासको साझेदारका रूपमा सम्मान गर्दै स्वदेशी उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक नीति ल्याउनुपर्ने उनको भनाइ छ ।
नेपाली उत्पादनको स्वदेशमै खपत बढाउन र विश्व बजारमा पुर्याउन सरकारले सहयोग गर्नुपर्ने उनले बताए । युवालाई स्वदेशमै रोजगारी दिन उद्योगको आवश्यकताअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा, सीप विकास र कार्यस्थलमै तालिमको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए ।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र डिजिटल प्रविधिको प्रयोगबाट उद्योगको उत्पादन क्षमता र प्रतिस्पर्धा बढाउनुपर्ने उनले बताए । नेपाललाई क्षेत्रीय उत्पादन तथा निर्यात केन्द्रका रूपमा विकास गर्न भारत, चीन र अन्य अन्तर्राष्ट्रिय बजारसँग आर्थिक सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष अग्रवालले उद्योग विभागलाई लगानी प्रवर्द्धन गर्ने, उद्योगीका समस्या समाधान गर्ने र औद्योगिक क्षेत्रलाई सहजीकरण गर्ने प्रभावकारी निकाय बनाउनुपर्ने बताए ।
उनले चेम्बरले उधारो असुली ऐनको प्रारम्भिक मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा बुझाइसकेको जानकारी दिँदै ऐन निर्माण प्रक्रिया अघि बढाउन ढिलाइ गर्न नहुने बताए ।
उद्योग विस्तार, उत्पादन वृद्धि, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, गैरआवासीय नेपालीको पूँजी परिचालन गर्ने र युवालाई स्वदेशमै रोजगारी तथा उद्यमशीलताको अवसर दिने विषयलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने उनले बताए ।
राष्ट्रिय उद्योग दिवसका अवसरमा अध्यक्ष अग्रवालले उद्योग विभाग, सरकार, उद्योगी, लगानीकर्ता र श्रमिकलाई शुभकामना दिँदै औद्योगिक विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए ।