काठमाडौं । नेपालको उद्योग, व्यापार र समाजसेवामा योगदान पुर्याएका स्वर्गीय वृजलाल केडियाको जीवनी पुस्तक ‘वृजलाल केडिया : साधारण व्यापारीदेखि नगरसेठसम्म’ विमोचन गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।
पुस्तकमा वृजलाल केडियाको बाल्यकालदेखि सुरु भएको व्यापारिक यात्रा, खाद्यान्न व्यापार र उद्योग क्षेत्रमा पुर्याएको योगदान समेटिएको छ । त्यस्तै, वीरगन्जको विकासमा उनको भूमिका तथा शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा गरेका कामबारे पनि पुस्तकमा उल्लेख गरिएको छ ।
पाँच अध्यायमा तयार पारिएको पुस्तकमा ४० भन्दा बढी व्यक्तिसँग गरिएको अन्तर्वार्ता, ऐतिहासिक दस्तावेज, पारिवारिक संस्मरण र पुराना तस्बिर समावेश छन् ।
साधारण व्यापारीका रूपमा सुरु भएको यात्रा उद्योग र समाजसेवाको क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल वृजलाल केडियाको जीवनकथाले नयाँ पुस्तालाई उद्यमशीलता, मेहनत र सामाजिक उत्तरदायित्वका लागि प्रेरणा दिने विश्वास गरिएको छ ।