ललितपुर । ललितपुरको गोदावरी कुण्डमा २०८४ भदौमा लाग्ने १२ वर्षे कुम्भ मेलाको तयारी सुरु भएको छ । मेलाको तयारी र व्यवस्थापनका लागि ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
गोदावरी नगरपालिकामा सरोकारवालासहित सम्पन्न सर्वपक्षीय बैठकले मूल समारोह समिति गठन गरेको हो । बैठकले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ ।
कार्यसमितिको सहसंयोजकमा नगर उपप्रमुख मुना अधिकारी छन् । सदस्यमा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीराज थापा, वडा नम्बर २ का अध्यक्ष मनोहर सिल्वाल, वडा नम्बर ३ का अध्यक्ष राज घिमिरे, वडा नम्बर ४ का अध्यक्ष सानुभाइ नगरकोटी, वडा नम्बर १३ का अध्यक्ष भाष्कर थापा र वडा नम्बर १४ का अध्यक्ष निरोज बज्राचार्य छन् ।
त्यस्तै, ललितपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष वीरेन्द्र महर्जन र वडा नम्बर २९ का अध्यक्ष गणेश महर्जन पनि कार्यसमितिका सदस्य छन् । समितिमा रेडक्रस, स्काउट, पत्रकार, विभिन्न संघसंस्था, पुजारी, स्थानीय विद्यालय तथा उपसमितिका संयोजकहरूलाई समेत समेटिएको छ ।
मेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न भौतिक पूर्वाधार निर्माण समिति, सामाजिक संघसंस्था समिति र धार्मिक समिति पनि गठन गरिएको छ । भौतिक पूर्वाधार समितिको संयोजकमा गोदावरी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज घिमिरे, सामाजिक संघसंस्था समितिको संयोजकमा वडा नम्बर २ का अध्यक्ष मनोहर सिल्वाल र धार्मिक समितिको संयोजकमा गोकुल पुरी छन् । प्रदेश र संघीय सांसदहरूलाई सल्लाहकारका रूपमा राखिएको छ ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले मेलाका लागि भौतिक पूर्वाधारमा धेरै काम गर्नुपर्ने बताए । लाखौँ भक्तजन र दर्शनार्थी आउने भएकाले सडकमा अत्यधिक चाप पर्ने र साँघुरा सडकले मेलालाई प्रभावित पार्न सक्ने उनको भनाइ छ ।
उनले मेलालाई केन्द्रमा राखेर हरिसिद्धि र ठैबमा सडक विस्तार तथा स्तरोन्नति गर्नुपर्ने बताए । सडक विस्तार गर्दा नागरिकलाई उचित मुआब्जा दिनुपर्ने उल्लेख गर्दै उनले यसका लागि प्राविधिकसँग छलफल गरी संघ र प्रदेश सरकारसँग समन्वय गर्ने जानकारी दिए । आवश्यकताअनुसार समितिहरू विस्तार गर्दै जाने पनि उनले बताए ।
प्रदेश सांसद मधुसुदन पौडेलले गोदावरी कुम्भ मेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित रहेकाले यसलाई व्यवस्थित बनाउनुपर्ने बताए । सरोकारवालाबीच सहकार्य र समन्वय भएमा मेला सफल हुने उनको भनाइ छ ।
यसअघि गोदावरीमा २०७२ साल भदौमा कुम्भ मेला लागेको थियो ।
गोदावरी नगरपालिका वडा नम्बर १४ का अध्यक्ष निरोज बज्राचार्यले मेलालाई व्यवस्थित बनाउन पार्किङको राम्रो व्यवस्था गर्नुपर्ने बताए । विभिन्न संघसंस्थासँग समन्वय गरेर पार्किङ व्यवस्थापन गर्न सकिने उनले बताए ।
ललितपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष वीरेन्द्र महर्जनले पनि पालिका तथा अन्य सरोकारवाला निकायबीच समन्वय गरेर मेला सफल बनाउनुपर्ने धारणा राखे ।