रिजन, लोकेश र राहुलले पाए बजाज पल्सर एन१६०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीले बजाज पल्सर एन१६० मोटरसाइकल पाएका छन् ।

एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र प्रतियोगिताको इमर्जिङ प्लेयर राहुल यादवलाई मोटरसाइकल प्रदान गरेको हो ।

प्रतियोगिताभर खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाज पल्सरले ‘पल्सर पावर प्ले च्याम्पियन’ पहलसमेत सञ्चालन गरेको थियो । यसअन्तर्गत प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

यस पहलले खेलाडीको प्रदर्शनलाई सम्मान गर्नुका साथै खेललाई थप रोमाञ्चक बनाएको कम्पनीले जनाएको छ ।

त्यस्तै, ‘पल्सर पावर प्ले प्रेडिक्शन गेम’ मा क्रिकेट समर्थकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । खेलका विजेता, लिडरबोर्डमा उत्कृष्ट स्थान हासिल गर्ने सहभागी तथा स्मार्टवाच विजेतालाई पनि बजाज पल्सरले बधाई दिएको छ ।

एनपीएल सिजन ३ सफल बनाउन योगदान पुर्याउने खेलाडी, टोली, आयोजक, पदाधिकारी, साझेदार तथा क्रिकेट समर्थकप्रति बजाज पल्सरले आभार व्यक्त गरेको छ ।

नेपाली खेलकुदको विकासमा योगदान पुर्याउँदै प्रतिभाको पहिचान र खेल उपलब्धिको सम्मान गर्ने प्रतिबद्धतासहित बजाज पल्सर आगामी सिजन ४ र ५ मा पनि एनपीएलसँग जोडिने जनाएको छ । 

Share News