स्वास्थ्य बीमाको सूचना प्रणालीमा नयाँ प्रविधि

काठमाडौैं । स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले आधुनिक प्रविधि र नयाँ आर्किटेक्चरमा आधारित अद्यावधिक प्रणाली सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार अद्यावधिक प्रणालीले सेवा प्रदायकबाट प्राप्त स्वास्थ्य उपचारसम्बन्धी दाबीहरूको छिटो तथा प्रभावकारी रुजु र मूल्याङ्कन गर्न सहयोग गर्नेछ । 

यसका साथै राष्ट्रिय परिचयपत्र (एनआईडी) सँग अन्तरआबद्धता कायम गरी तथ्याङ्कको वैधता र गुणस्तर अभिवृद्धि गर्नेछ ।

प्रणालीमा दाबीमा भएका त्रुटि तथा असामान्य विवरण पहिचानका लागि फ्ल्यागिङ, बीमितको अभिलेख खोजी तथा पहिचान र सेवा प्रदायकको अवस्थासम्बन्धी विवरण अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

यसले सूचना सुरक्षा, प्रणालीको गति, कार्यसम्पादन र विश्वसनीयता अभिवृद्धि गर्ने बोर्डको विश्वास छ । 

साथै आगामी दिनमा एआईमा आधारित प्रविधिको प्रयोग तथा विकासका लागि समेत आधार तयार गर्ने जनाइएको छ ।
 

Share News