काठमाडौं । स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिमा आधारित समाधान प्रदान गर्दै आएको मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार नेपालमा स्वास्थ्य संस्थालाई यस्तो उन्नत प्रविधिमा आधारित एचएमआइएस उपलब्ध गराउने मिदास पहिलो तथा एकमात्र कम्पनी हो । नयाँ प्रणालीले अस्पतालको सेवा प्रवाहलाई थप विश्वसनीय, लचिलो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण गरेको हो । यस प्रविधिमा अस्पतालका विभिन्न विभागका प्रणाली छुट्टाछुट्टै सञ्चालन हुने भए पनि आपसमा समन्वय गरेर काम गर्न सक्छन् ।
मिदासले २५ वर्षभन्दा बढीको अनुभवसहित केन्द्रीयस्तरका अस्पताल, मेडिकल कलेज तथा निजी क्लिनिक गरी २५० भन्दा बढी स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार नयाँ प्रणालीले अस्पतालको सूचना प्रणालीलाई थप विस्तारयोग्य र भरपर्दो बनाउँदै बिरामीको चाप तथा बदलिँदो आवश्यकताअनुसार छिटो अनुकूलन गर्न सहयोग गर्नेछ ।
परम्परागत मोनोलिथिक संरचनामा बिलिङ, फार्मेसी, बिरामी अभिलेख र प्रयोगशाला प्रतिवेदनलगायतका सेवा एउटै ठूलो सफ्टवेयर प्रणालीमा सञ्चालन हुन्छन् । यस्तो संरचनामा कुनै एउटा विभागमा प्राविधिक समस्या आएमा वा प्रणाली अद्यावधिक गर्नुपरेमा अन्य सेवासमेत प्रभावित हुन सक्छन् ।
माइक्रोसर्भिसेस आर्किटेक्चरमा भने बिलिङ, फार्मेसी र बिरामी अभिलेखजस्ता सेवा छुट्टाछुट्टै मोड्युलका रूपमा सञ्चालन हुन्छन् । एउटा मोड्युलमा सुधार वा अद्यावधिक गर्दा अन्य विभागको काममा असर नपर्ने गरी परिवर्तन गर्न सकिने कम्पनीको भनाइ छ ।
यसले प्रणालीमा सेवा अवरोध कम गर्न, कार्यसम्पादन सुधार गर्न तथा आवश्यकताअनुसार निश्चित विभागको क्षमता विस्तार गर्न सहयोग पुग्नेछ । अस्पतालले सम्पूर्ण सफ्टवेयर संरचना परिवर्तन नगरी नयाँ सुविधा थप्न र बिरामीको चापअनुसार आवश्यक मोड्युलको क्षमता बढाउन सक्नेछन् ।
मिदासले आफ्ना विद्यमान ग्राहक संस्थाहरूको एचएमआइएस स्तरोन्नति गर्नुका साथै नयाँ स्वास्थ्य संस्थामा पनि माइक्रोसर्भिसेसमा आधारित प्रणाली कार्यान्वयन गरिसकेको जनाएको छ ।
कम्पनीका अनुसार नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौं मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, ह्याम्स हस्पिटल, फ्रन्टलाइन हस्पिटल, गण्डकी मेडिकल कलेज, लुम्बिनी सिटी हस्पिटल, हस्पिटल फर चिल्ड्रेन, आई, ईएनटी एण्ड रिह्याबिलिटेसन सर्भिसेज, भीम हस्पिटल र मणिपाल मेडिकल कलेजमा विद्यमान प्रणालीलाई स्तरोन्नति गरी नयाँ प्रविधि लागू गरिएको छ ।
त्यस्तै, चरक मेमोरियल हस्पिटल, फिस्टेल हस्पिटल, तिलोत्तमा हस्पिटल, भरतपुर सामुदायिक हस्पिटल, सरोवर डायग्नोस्टिक सेन्टर, युरोलोजी किड्नी हस्पिटल, रिदम न्युरोसाइकियाट्री हस्पिटल एण्ड रिसर्च सेन्टर, डीआई डेन्टल हस्पिटल तथा शियर मेमोरियल एड्भेन्टिस्ट हस्पिटलमा नयाँ माइक्रोसर्भिसेसमा आधारित एचएमआइएस सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
मिदास हाल किस्ट मेडिकल कलेज टिचिङ हस्पिटल र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरलगायतका स्वास्थ्य संस्थाको प्रणाली स्तरोन्नति गर्ने प्रक्रियामा रहेको छ । साथै, मोनोलिथिक आर्किटेक्चरमा सञ्चालन भइरहेका बाँकी ग्राहक संस्थाको प्रणालीलाई पनि नयाँ प्रविधिमा रूपान्तरण गर्ने काम अघि बढाइएको कम्पनीले जनाएको छ ।
मिदास हेल्थ सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत अंकित भण्डारीले कम्पनीले सफ्टवेयर उपलब्ध गराउने मात्र नभई दीर्घकालीन साझेदारी निर्माण गर्ने उद्देश्य राखेको बताए । नेपालमा माइक्रोसर्भिसेस आर्किटेक्चर भित्र्याएर स्वास्थ्य संस्थालाई आवश्यकतासँगै विकसित हुँदै जाने प्रणाली उपलब्ध गराइरहेको उनले उल्लेख गरे ।
अस्पतालले बिरामीको उपचार सेवा तथा प्रशासनलाई अझ प्रभावकारी बनाउन भरपर्दो, कार्यकुशल र नवीन उपकरण प्राप्त गरून् भन्नेमा कम्पनी प्रतिबद्ध रहेको भण्डारीको भनाइ छ ।