बालेनको भ्रमणबारे भारतीय मिडियाले के लेखिरहेका छन् ?

सीमा विवाददेखि २ अर्ब डलरको आर्थिक सहायता, ऊर्जा सहकार्य र हवाई रुटसम्मका विषय भारतीय सञ्चारमाध्यमको प्राथमिकतामा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने अवसरका रूपमा प्रस्तुत गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार (आज) नयाँ दिल्ली पुग्ने बालेनको भ्रमणलाई भारतीय मिडियाले राजनीतिक सम्बन्ध सुधार, आर्थिक सहकार्य विस्तार र पूर्वाधार विकाससँग जोडेर विश्लेषण गरेका छन् ।

भारतीय सञ्चारमाध्यमको समाचारमा विशेषगरी तीन विषयले प्राथमिकता पाएका छन् । पहिलो, बालेन र मोदीबीचको राजनीतिक तथा कूटनीतिक संवाद । दोस्रो, नेपालले भारतसँग माग गरेको आर्थिक सहायता र पूर्वाधार लगानी । तेस्रो, कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवादसहित दुई देशबीचका पुराना असमझदारी ।

भारतीय सञ्चार माध्यमले समाचारले बालेनको भ्रमणलाई औपचारिक कूटनीतिक भेटघाटमा मात्रै सीमित नराखी दुई देशको आगामी सम्बन्धको दिशासँग जोडेर हेरेका छन् ।

भारतको अंग्रेजी दैनिक हिन्दूस्तान टाइम्सले मंसिर ६ गते प्रकाशन गरेको समाचारमा बालेनको भ्रमणलाई आर्थिक सहकार्य र द्विपक्षीय सम्बन्ध विस्तारसँग जोडेको छ । समाचारको शीर्षक नै ‘२ अर्ब डलरको आर्थिक प्याकेज, मोदीसँगको बैठक भ्रमणको एजेन्डामा’ छ ।

हिन्दुस्तान टाइम्सका अनुसार नेपालले भारतसँग २ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रस्ताव गरेको छ । यसमा अनुदान र सहुलियतपूर्ण ऋण दुवै समेटिएका छन् । उक्त रकम विकास आयोजना अघि बढाउन र बाढीबाट क्षति भएका क्षेत्रको पुनर्निर्माणमा उपयोग गर्ने नेपालको प्रस्ताव रहेको समाचारमा उल्लेख छ ।

त्यस्तै, भारतले आर्थिक सहकार्य, लगानी, पारवहन, ऊर्जा, डिजिटल कनेक्टिभिटी र स्वास्थ्य क्षेत्र समेटिएको संयुक्त भिजन दस्तावेज प्रस्ताव गरेको समाचारमा जनाइएको छ । भ्रमणका क्रममा उक्त दस्तावेज सार्वजनिक गर्ने र भ्रमणको अन्त्यमा औपचारिक रूपमा स्वीकार गर्ने तयारी रहेको पनि समाचारमा उल्लेख छ ।

हिन्दुस्तान टाइम्सले सीमा विवाद र भारतीय सेनामा नेपाली गोर्खा सैनिकको भर्तीसम्बन्धी असमझदारीलाई पनि दुई देशबीच छलफल हुन सक्ने विषयका रूपमा प्रस्तुत गरेको छ । 

भारतको आर्थिक समाचार माध्यम द इकोनोमिक टाइम्सले बालेनको भ्रमणलाई भारतप्रतिको नीतिगत दृष्टिकोणमा आएको परिवर्तनका रूपमा व्याख्या गरेको छ । ‘नेपालका प्रधानमन्त्री बालेन शाहको भ्रमणले भारततर्फ नीतिगत परिवर्तनको संकेत गर्छ’ शीर्षकमा मंसिर ५ गते प्रकाशित समाचारमा बालेनले प्रधानमन्त्री भएपछि पहिलो वर्ष विदेश भ्रमण नगर्ने घोषणा गरेको र सुरुमा भारतीय विदेश सचिवसँगको भेटसमेत अस्वीकार गरेको प्रसंग उल्लेख छ ।

तर, पछिल्लो समय नेपालका मन्त्रीहरूको भारत भ्रमण, भारतले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा देखाएको सहयोग र दुई देशबीच आर्थिक तथा पूर्वाधार सहकार्यको आवश्यकताले बालेनको दृष्टिकोणमा परिवर्तन आएको समाचारमा विश्लेषण गरिएको छ ।

इकोनोमिक टाइम्सले भ्रमणका क्रममा ऊर्जा र कनेक्टिभिटी आयोजना उद्घाटन, नयाँ आयोजनाको शिलान्यास तथा संयुक्त भिजन दस्तावेज सार्वजनिक हुन सक्ने जनाएको छ । समाचारले नेपालले भारतसँग थप विद्युत् निर्यातको अनुमति खोजिरहेको विषयलाई पनि महत्त्व दिएको छ । भारतले हालै ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएपछि नेपालको कुल स्वीकृत निर्यात क्षमता १ हजार २६९.०२ मेगावाट पुगेको समाचारमा उल्लेख छ ।

त्यस्तै, नेपालले सिद्धार्थ राजमार्ग स्तरोन्नति र बाढीपछिको पुनर्निर्माणका लागि अनुदान तथा जलविद्युत् र पूर्वाधार आयोजनाका लागि सहुलियतपूर्ण ऋणसहित २ अर्ब डलरको आर्थिक प्याकेज माग गरेको समाचारमा उल्लेख छ ।

नेपालले पोखरा र भैरहवा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्न थप अनुमति मागेको विषयलाई पनि इकोनोमिक टाइम्सले प्राथमिकता दिएको छ । 

भारतीय रक्षा तथा कूटनीतिक मामिलामा केन्द्रित सञ्चारमाध्यम इन्डिया सेन्टिनेलले बालेनको भ्रमणलाई नेपाल–भारत सम्बन्धको परीक्षणका रूपमा प्रस्तुत गरेको छ । मंसिर ५ मा अबिशेक आनन्दले लेखेको समाचारको शीर्षक छ– ‘नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले सम्बन्धको परीक्षा लिने, सीमा विवाद, बाढी सहायता र कनेक्टिभिटी मुख्य एजेन्डा’ ।

यस समाचारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा विवादलाई भ्रमणको सबैभन्दा संवेदनशील विषयका रूपमा उल्लेख गरिएको छ ।

नेपालले यी क्षेत्र आफ्नो सार्वभौम भूभाग भएको दाबी गर्दै आएको र भारतले त्यसलाई अस्वीकार गर्दै आएको समाचारमा उल्लेख छ । सन् २०२० मा नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्धमा तनाव आएको पृष्ठभूमि पनि समाचारले प्रस्तुत गरेको छ ।

भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा सीमा विवादले छलफलमा स्थान नपाएको र प्रधानमन्त्रीस्तरको वार्तामा यो विषय उठ्ने अपेक्षा नेपाली अधिकारीहरूले गरेको समाचारमा उल्लेख छ । तर, भारतीय पक्षले यो विषय छलफलमा आउने वा नआउनेबारे स्पष्ट नगरेको पनि समाचारले जनाएको छ ।

यसका अतिरिक्त भारतसँग २ अर्ब डलर आर्थिक सहायता, पोखरा र भैरहवाका लागि थप हवाई प्रवेशमार्ग, पञ्चेश्वर आयोजना र व्यापार घाटालाई नेपालका प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ ।

समाचारले नेपाल–भारत व्यापार असन्तुलन र लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर आयोजनालाई पनि दुई देशबीचको आर्थिक सम्बन्धका चुनौतीका रूपमा उल्लेख गरेको छ । 

भारतको अर्को प्रमुख दैनिक टाइम्स अफ इन्डियाले बालेनको भ्रमणमा ऊर्जा सहकार्य र द्विपक्षीय सम्झौतालाई मुख्य प्राथमिकतामा राखेको छ । दुई देशका प्रधानमन्त्री वार्तापछि दुवै प्रधानमन्त्रीले ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न आयोजना संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको समाचारमा उल्लेख छ । त्यसपछि विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी द्विपक्षीय सम्झौता तथा समझदारी आदानप्रदान हुनेछ ।

दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने र मोदीले बालेनको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम पनि समाचारमा उल्लेख छ । टाइम्स अफ इन्डियाले राष्ट्रपति द्रौपदी मुर्मुसँगको भेट र महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धाञ्जली दिने कार्यक्रमलाई पनि समेटेको छ । 

भारतीय सञ्चारमाध्यम बिजनेस स्ट्यान्डर्डले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) को समाचार प्रकाशित गर्दै बालेनको भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय नियमित कूटनीतिक आदानप्रदानको निरन्तरताका रूपमा प्रस्तुत गरेको छ ।

Share News