मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ ।

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका थिए ।

मुख्यमन्त्री नियुक्तिका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समयसीमा तोकिएको थियो । तर, उक्त समयभित्र कुनै पनि दलले दाबी पेस नगरेपछि प्रदेशसभामा सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Share News