भोटेकोशी बाढीपछि उद्धारमा त्रिशूली जलविद्युतको ७२.९४ लाख खर्च

काठमाडौं । भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीले माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि खोज, उद्धार तथा उत्खननका काममा ७२ लाख ९४ हजार ८१५ रुपैयाँ खर्च भएको छ । त्रिशूली जलविद्युत् कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि तत्काल आवश्यक उपकरण, श्रमिक, इन्धन तथा अन्य सामग्रीको व्यवस्थापनमा उक्त रकम खर्च गरिएको हो ।ञ

गत भदौ १० गते आएको भीषण बाढीले निर्माणाधीन आयोजनाका विभिन्न संरचना क्षतिग्रस्त बनाएको थियो । आयोजनाको कार्यालय भवन, आवास भवन, सवारीसाधन तथा अन्य उपकरणसमेत बाढीले बगाएको कम्पनीले जनाएको छ ।

बाढीपछि कम्पनी, परामर्शदाता र निर्माण व्यवसायीका गरी कुल १८५ जना बेपत्ता तथा सम्पर्कविहीन भएका थिए । उनीहरूको खोज, उद्धार तथा उत्खनन कार्यलाई तत्काल अघि बढाउनुपर्ने भएपछि कम्पनीले आवश्यक सामग्री तथा सेवा सोझै खरिद गरेको जनाएको छ ।

कम्पनीका अनुसार सबैभन्दा बढी २२ लाख ९२ हजार ९२ रुपैयाँ उत्खननका लागि प्रयोग गरिएका तीनवटा एक्स्काभेटर र एउटा ब्याकहो लोडरको भाडामा खर्च भएको छ । त्यस्तै, मिनी एक्स्काभेटर भाडामा ३ लाख ८१ हजार ३७५ रुपैयाँ खर्च गरिएको छ । 

त्यसैगरी, दक्ष तथा अदक्ष श्रमिक, मेकानिक र उपकरण सञ्चालकको ज्यालामा ६ लाख २८ हजार ११७ रुपैयाँ पैसा खर्च भएको छ । कम्पनीका कर्मचारी तथा श्रमिकको खाना र बास व्यवस्थापनमा ४ लाख ९७ हजार ६२५ रुपैयाँ खर्च गरिएको जनाएको छ । 

खोज तथा उद्धार कार्यमा संलग्न जनशक्तिका लागि व्यक्तिगत सुरक्षाका सामग्री खरिद गर्न १ लाख ९७ हजार ५३१ रुपैयाँ खर्च भएको छ । त्यस्तै, १५ केभीए क्षमताको डिजेल जेनेरेटर खरिदमा ७ लाख ७४ हजार ६३८ रुपैयाँ र डिजेल, पेट्रोललगायत इन्धन खरिदमा १७ लाख ९७ हजार ५८४ रुपैयाँ खर्च गरिएको छ ।

यसका अतिरिक्त उपकरण तथा जगेडा पार्टपुर्जा खरिदमा ४ लाख २२ हजार ४८४ रुपैयाँ र ढुवानी, इन्धन भण्डारणका लागि जर्किन तथा गोदाम भाडालगायत विविध खर्चमा ३ लाख ३ हजार ३६७ रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ ।

कम्पनीले त्रिशूली जलविद्युतको आर्थिक विनियमावली, २०७८ को विनियम ४२ को उपविनियम ५ बमोजिम खरिद विवरण सार्वजनिक गरेको हो । उक्त व्यवस्थाअनुसार विशेष परिस्थितिमा १० लाख रुपैयाँभन्दा बढीको खरिद गरिएको अवस्थामा त्यसको विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

Share News