काठमाडौं । लगातार खसिरहेको सुक्खा पहिरोले नागढुंगा-मुग्लिन सडकखण्डको यात्रा जोखिमपूर्ण बनेपछि आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । घोप्टेभीरमा पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुनुका साथै मानवीय क्षतिसमेत भएपछि जोखिम न्यूनीकरणका लागि प्रशासनले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।
प्रशासनका अनुसार मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिनेछ ।
नागढुंगा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ । पहिरोका कारण मानवीय क्षतिसमेत भइसकेकाले थप दुर्घटना हुन नदिन जोखिमयुक्त ढुंगा र माटो हटाउनुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा तोकिएको समयमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने उल्लेख छ । सो अवधिमा सडकमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
सडक बन्द हुने समयलाई मध्यनजर गर्दै प्रशासनले यात्रु तथा सवारीचालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा आफ्नो यात्रा समय व्यवस्थापन गरेर मात्र आवतजावत गर्न आग्रह गरेको छ ।