काठमाडौंका यी क्षेत्रमा शनिबार र आइतबार ५ घण्टा बत्ती जाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा नियमित मर्मतसम्भार, ११ केभी भूमिगत केबल जडान तथा चार्जिङको काम गर्न विद्युत् सेवा अवरुद्ध गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार मंसिर ५ गते शनिबार र मंसिर ६ गते आइतबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । निर्धारित समयभित्र प्राविधिक काम सम्पन्न गर्ने लक्ष्यसहित विद्युत् सेवा अवरुद्ध गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

शनिबार त्रिपुरेश्वर-टेकु सबस्टेसनअन्तर्गतको फिडरमा विद्युत् आपूर्ति बन्द हुनेछ । यसबाट टेकु सबस्टेसन, टेकु चोक हुँदै त्रिपुरेश्वर चोकसम्मका साथै आसपासका क्षेत्र प्रभावित हुनेछन् ।

त्यसैगरी, शनिबार नै भिमसेनस्थान फिडरअन्तर्गतका क्षेत्रमा पनि विद्युत् सेवा बन्द हुनेछ । उक्त फिडरअन्तर्गत १२ नम्बर वडा कार्यालय, सरस्वती विद्यालय, ब्रह्मटोल, प्लान्चोक भगवती, २१ नम्बर वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिकंमुगः, अकोनारायण र भिमसेनस्थानलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

आइतबार भने कालीमाटी फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ । यसबाट टेकु प्रहरी परिसर, फोहोरमैला क्षेत्र, टेकु चोक, परोपकार, रामघाट, कालीमाटी, कंकेश्वरी, दमाईटोल, इन्द्रायणी, ताम्सीपाखा, नरदेवी अस्पताल, क्षेत्रपाटी, असन, बालकुमारी, इन्द्रचोक, भेडासिंह र किलागललगायतका क्षेत्र प्रभावित हुनेछन् ।

त्यस्तै, आइतबार नै क्षेत्रपाटी फिडरअन्तर्गत मयलबारी, पुष्पलाल पार्क, ढल्कु, कालधारा, धोबीचौर, पकनाजोल, कुस्लेचौर, पिपुल्स कलेज, ठहिटी र कुवाहाललगायत आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले निर्धारित समयभन्दा अगावै प्राविधिक काम सम्पन्न भए तत्काल विद्युत् सेवा सञ्चालनमा ल्याइने जनाएको छ । विद्युत् अवरुद्ध हुने क्षेत्रका उपभोक्तालाई सोहीअनुसार आफ्नो दैनिक कामको व्यवस्थापन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

Share News