सन नेपालले व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म विलम्ब शुल्क छुट दिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आगामी मंसिर २१ गतेसम्म सञ्चालन गर्ने अभियानअन्तर्गत तोकिएको अवधिमा बीमालेख पुनर्जागरण गर्ने बीमितलाई विलम्ब शुल्क (ब्याज) मा छुट उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार बीमालेख व्यतित भएको मितिबाट दुई वर्ष ननाघेकालाई पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिइनेछ । त्यस्तै, दुई वर्ष नाघेका तर चार वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

कम्पनीले यस्तो छुट सुविधा सम्पूर्ण बीमा अवधिभर एकपटक मात्र लिन सकिने जनाएको छ । साथै, छुट सुविधाअन्तर्गत पुनर्जागरण गरिएको बीमालेख पछि बीमा अवधि छँदै समर्पण (सरेन्डर) गरिएमा छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिनेछ ।

विभिन्न कारणले व्यतित अवस्थामा पुगेका बीमालेखलाई पुनः सक्रिय गराई बीमित तथा उनीहरूको परिवारको आर्थिक सुरक्षा निरन्तरता दिनु अभियानको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

यस अभियानले बीमितलाई आफ्नो बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्नुका साथै जीवन बीमाको महत्व र आवश्यकताबारे सचेतना बढाउने कम्पनीको विश्वास छ ।

कम्पनीले योग्य बीमितलाई मंसिर २१ गतेभित्र आफ्नो व्यतित बीमालेख पुनर्जागरण गरी छुट सुविधाको लाभ लिन आग्रह गरेको छ । यससम्बन्धी थप जानकारी कम्पनीका नजिकका शाखा तथा उपशाखाबाट लिन सकिनेछ ।

त्यस्तै, कम्पनीको सम्पर्क नम्बर ९८०१२३४४४४, टेलिफोन नम्बर ०१-४५३६१२६ तथा इमेल र वेबसाइटमार्फत पनि जानकारी लिन सकिने कम्पनीले जनाएको छ । 

Share News