काठमाडौं । नेपालमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत मात्रै थियो ।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत रहेको छ । गत वर्षको असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको ३.८० प्रतिशत थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर १.६७ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य सबैभन्दा धेरै १६.४४ प्रतिशतले बढेको छ । त्यस्तै, फलफूलको १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको मूल्य ७.२८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातको मूल्य १२.९७ प्रतिशतले बढेको छ । मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ५.४५ प्रतिशतले बढेको छ ।
क्षेत्रगत रूपमा हेर्दा ग्रामीण क्षेत्रमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.६३ प्रतिशतले बढेको छ । सहरी क्षेत्रमा यस्तो वृद्धि ६.२८ प्रतिशत रहेको छ ।
प्रदेशगत रूपमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा ७.३७ प्रतिशत रहेको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१३ प्रतिशत छ । यस्तै, काठमाडौं उपत्यकामा ५.९२ प्रतिशत, तराईमा ६.८८ प्रतिशत, पहाडमा ६.१४ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ ।
असोज महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ७.२९ प्रतिशत पुगेको छ । गत वर्षको सोही महिनामा यस्तो दर १.३२ प्रतिशत थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तुको थोक मुद्रास्फीति २.८७ प्रतिशतले बढेको छ । मध्यवर्ती वस्तुको ९.९८ प्रतिशत र पुँजीगत वस्तुको ६.५६ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मुद्रास्फीति ५.९३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
२०८३ असोजमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहेको छ । सन् २०२६ को अक्टोबरमा भारतको उपभोक्ता मुद्रास्फीति ६.०९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।