३ महिनामै भित्रियो ७ खर्ब बढी रेमिट्यान्स, असोजमा मात्रै २ खर्ब ६७ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । यसअनुसार रेमिट्यान्स आप्रवाहको वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

यसैबीच, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख २१ हजार ८७९ रहेको छ । यसमा संस्थागत तथा व्यक्तिगत दुवै प्रकारका नयाँ श्रम स्वीकृति समावेश छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १ लाख २३ हजार ४५९ थियो ।

त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ८२ हजार ३६९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ७७ हजार २५७ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । तथ्याङ्कअनुसार नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या केही घटे पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । 

Share News