३ लाख ४५ हजार घुस प्रकरणमा जलस्रोत कार्यालयका दुई कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगञ्जका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले अधिकृत छैटौँ (प्राविधिक) गजेन्द्रप्रसाद जायसवाल र विकी यादवविरुद्ध ३ लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पर्साको ठोरी गाउँपालिका–३ मा सार्वजनिक इनार तथा पोखरीको निर्माण र मर्मतसम्भारसम्बन्धी योजना सम्पन्न भएको थियो। उक्त योजनाको भुक्तानी र धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि दुवै कर्मचारीले सेवाग्राहीसँग ३ लाख ४५ हजार रुपैयाँ घुस मागेको उजुरी परेको थियो ।

उजुरीमाथि अनुसन्धान गर्दा दुवै कर्मचारीले आपसी मिलेमतोमा घुस रकम लिन सहमति गरेको खुलेको आयोगले जनाएको छ । कार्यालय समयमा रकम लिन नमिल्ने भन्दै जायसवालले सोही स्थानमा रहेका अर्का व्यक्तिमार्फत घुस रकम लिन लगाएको र सोहीअनुसार रकम लिएको पुष्टि भएको आयोगको भनाइ छ ।

आयोगले दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार कसुर कायम गरी ३ लाख ४५ हजार रुपैयाँ बिगो निर्धारण गरेको छ । उनीहरूलाई सोही ऐनको व्यवस्थाअनुसार कैद र बिगो बराबर जरिवाना सजाय माग गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् । 

Share News