काठमाडौं । धरानमा रहेको बराह सहकारी ठगी प्रकरणमा जोडिएका शिवकुमार विश्वकर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
गृहमन्त्री सुधन गुरुङले विश्वकर्मा पक्राउ परेको जानकारी गराएका छन् । बराह सहकारीको करिब ६ अर्ब रुपैयाँ हिनामिना भएको खुलेको छ ।
उनले फेसबुकमा लेखेका छन्,' पूर्वलाई न्याय बराह सहकारीका मुख्य योजनाकार शिव कुमार विश्वकर्मा लामिछाने सीआइबीद्वार पक्राउ । ६ वर्षअघि धरानमा घोपा सेभ अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले मलाई सधैँ झकझकाइरहेको थियो।'
अभियन्ता हुँदा वा जेनजी आन्दोलन पश्चातका प्रयासहरूमा तत्काल केही गर्न नसकेको उनले बताएका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको उनले बताएका छन् ।
'५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका छौं, र क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने सम्पूर्ण जनमानसमा जानकारी गराउन चाहन्छु,' उनले भने ।