पहिलो चौमासिकमै ३ खर्ब ७८ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा ३ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ७८ अर्ब २३ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १९ अर्ब ६८ करोडभन्दा बढी राजस्व प्राप्त गर्ने गरी भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई ‘मिसन १६ खर्ब’ राजस्व सङ्कलन गर्ने लक्ष्यका साथ अगाडि बढ्न निर्देशन दिएका छन् । यसअनुसार पहिलो चौमासिकको अवधिसम्म वार्षिक लक्ष्यको २३.९३ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सरकारले ३ खर्ब ३० अर्ब १६ करोड ८७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा ४८ अर्ब ६ करोड ४६ लाख रुपैयाँ बढी राजस्व उठेको छ । यो १४.५६ प्रतिशतको वृद्धि हो ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर राजस्व सङ्कलन पनि बढेको छ । मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ५५ अर्ब ७५ करोड ७८ लाख रुपैयाँ कर राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब १० अर्ब ४२ करोड रुपैयाँ कर राजस्व सङ्कलन भएको थियो । यस वर्ष कर राजस्व सङ्कलन १४.६१ प्रतिशतले बढेको हो ।

त्यस्तै, गैरकर राजस्व सङ्कलन २२ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ७४ करोड ८७ लाख रुपैयाँ गैरकर राजस्व सङ्कलन भएको थियो । यसमा १३.८१ प्रतिशतको वृद्धि देखिएको छ ।

सरकारले प्राप्त गर्ने अनुदानमा समेत उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म ८ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५० करोड ८१ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । यसअनुसार अनुदान प्राप्ति १४७.२३ प्रतिशतले बढेको छ ।

तर, अन्य प्राप्ति भने घटेको छ । अघिल्लो आर्थिक वर्षको मंसिर १ गतेसम्म २ अर्ब ९९ करोड २७ लाख रुपैयाँ अन्य प्राप्ति भएकोमा चालु वर्षको सोही अवधिमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ । यो ९.९९ प्रतिशतको गिरावट हो ।

महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म सरकारको कुल प्राप्ति ३ खर्ब ८९ अर्ब ६० करोड ७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल प्राप्ति ३ खर्ब ३६ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ थियो । यसरी कुल प्राप्तिमा १५.७२ प्रतिशतको वृद्धि भएको छ ।

बजेट लक्ष्यको तुलनामा पनि सरकारको आम्दानीको प्रगति अघिल्लो वर्षभन्दा सुधार भएको छ । चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म कुल प्राप्तिको बजेट लक्ष्यको २३.७३ प्रतिशत सङ्कलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रगति २१.९६ प्रतिशत थियो । 

Share News