५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका श्रीवास्तव पक्राउ

काठमाडौं । राजस्व चुहावट मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रीवास्तवलाई मंसिर २ गते पर्साको वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

श्रीवास्तवविरुद्ध विभिन्न पाँच कम्पनीमार्फत झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी कारोबार गरेको आरोपमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर भएको थियो । उनी संग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनलका सञ्चालक हुन् ।

राजस्व अनुसन्धान विभागका निर्देशक तथा अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्यसमेतको प्रतिवेदनका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते फैसला गरेको थियो ।

अदालतले श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो। तर, सजाय कार्यान्वयन नभई उनी फरार रहेका थिए ।

पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ । 

Share News