कर्जा स्वीकृतिको अवस्था बुझ्न शाखा धाउन नपर्ने, मुक्तिनाथको नयाँ सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई घरमै बसेर कर्जा आवेदनको अवस्था हेर्न सकिने सुविधा ल्याएको छ ।

बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ (Loan Application Tracking) सेवा सञ्चालनमा ल्याएको हो । यस सेवामार्फत ग्राहकले बैंकमा पेस गरेको कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् ।

यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गएर आफ्नो मोबाइल नम्बर र लोन एप्लिकेसन ट्र्याकिङ आईडी प्रयोग गर्नुपर्नेछ । त्यसपछि कर्जा आवेदनको अवस्था, कर्जा मूल्यांकन तथा स्वीकृति प्रक्रियाको प्रगति र पछिल्ला अपडेटहरू हेर्न सकिने बैंकले जनाएको छ ।

यसअघि कर्जा आवेदनको अवस्था बुझ्न ग्राहकले बैंकको शाखा कार्यालयमै पुग्नुपर्ने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्था थियो । नयाँ सेवाको सुरुवातसँगै ग्राहकले जुनसुकै समय र स्थानबाट आफ्नो कर्जा आवेदनको प्रगति आफैँ अनुगमन गर्न सक्नेछन् ।

त्यस्तै, कर्जा आवेदन स्वीकृत भएको अवस्थामा सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत तत्काल जानकारी उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

बैंकले पछिल्ला केही वर्षदेखि प्रविधिमा आधारित सेवा विस्तारलाई रणनीतिक प्राथमिकतामा राख्दै आएको जनाएको छ । बैंकको ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै डिजिटल माध्यमबाट सहज, सुरक्षित र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने प्रयास भइरहेको बैंकले जनाएको छ ।

आगामी दिनमा पनि अत्याधुनिक प्रविधिको प्रयोगमार्फत आफ्ना सेवा तथा प्रक्रियालाई थप सहज, पारदर्शी र ग्राहकमैत्री बनाउँदै नयाँ डिजिटल सेवा विस्तार गर्ने बैंकको योजना छ । 

Share News