काठमाडौं । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनबाट परेको ठूलो दाबीको भुक्तानीको दबाब कम नहुँदै चालु आर्थिक वर्षको भदौमा आएको बाढीले निर्जीवन बीमा कम्पनीहरूलाई थप दबाबमा पारेको छ ।
एकपछि अर्को विपत्तिका कारण ठूलो दाबीको भार खेपिरहेका कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने आफ्नो वित्तीय अवस्थामा सुधार गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा घाटा घटाए पनि समग्र निर्जीवन बीमा क्षेत्र अझै घाटामै रहेको छ ।
कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको असोजसम्ममा १४ निर्जीवन बीमा कम्पनीको कुल खुद घाटा १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीहरूको कुल खुद घाटा १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ थियो ।
गत आवमा घाटामा रहेको राष्ट्रिय बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमासमा नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले तीन महिनामा २८ करोड ३० लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यही अवधिमा कम्पनी ९ करोड ९५ लाख ९ हजार रुपैयाँ घाटामा थियो ।
चालु आवमा प्रभु इन्स्योरेन्सले ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यही अवधिमा कम्पनीले ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५.८० प्रतिशतले बढेको छ ।
गत वर्ष घाटामा रहेको शिखर इन्स्यारेन्सले चालु आवको पहिलो त्रैमासमा नाफा आर्जन गर्न सफल भएको छ । चालु आवको असोजसम्ममा कम्पनीले ४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । गत आव कम्पनी १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ घाटामा थियो ।
चालु आवको तेस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्सले पनि नाफा कमाउन सफल भएको छ । गत आवमा १० करोड १० लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवमा ३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यसैगरी, गत आवको पहिलो त्रैमासमा २० करोड ७६ लाख रुपैयाँ घाटामा रहेको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आवको सोही अवधिमा ३ करोड ३ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ ।
चालु आवको असोजसम्ममा नेशनल इन्स्योरेन्सले ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ३ करोड ८१ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद नाफा ९८.१६ प्रतिशतले घटेको छ ।
८ कम्पनीको नाफा अझै ऋणात्मक
चालु आवको पहिलो त्रैमासमा ८ बीमा कम्पनीको नाफा अझै ऋणात्मक नै रहेको छ । युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार रुपैयाँ घाटामा रहेको छ । गत आवको सोही अवधिमा उक्त कम्पनी १५ करोड ११ लाख रुपैयाँ घाटामा थियो ।
त्यस्तै, चालु आवको तेस्रो त्रैमासमा नेको इन्स्योरेन्स ८ करोड १८ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १६ करोड १५ लाख, नेपाल इन्स्योरेन्स २० करोड ४७ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्स २० करोड ९८ लाख रुपैयाँ घाटामा रहेको छ ।
गत आवको यही अवधिमा नेको इन्स्योरेन्स ८ करोड ३१ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २९ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स ९ करोड ६३ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्स २६ करोड ७३ लाख रुपैयाँ घाटामा रहेको थियो ।
त्यसैगरी, सानिमा जिआईसी इन्स्योरेन्स २९ करोड ३७ लाख रुपैयाँ घाटामा रहेको छ । गत आवको यही अवधिमा कम्पनी २० करोड २ लाख ३ हजार रुपैयाँ घाटामा थियो ।
द ओरिएन्टल इन्स्योरेन्स ३२ करोड ६० लाख र ४० करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको यही अवधिमा दि ओरियन्टल इन्स्योरेन्स २८ करोड ४८ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योेरेन्स १० करोड ९३ लाख रुपैयाँ घाटामा थियो ।
