काठमाडौं । भारतमा क्यान्सरको उपचारमा प्रयोग हुने औषधीको मूल्य घटेको छ । भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने १३७ प्रकारका औषधिमा व्यापारिक नाफा (ट्रेड मार्जिन) अधिकतम ३० प्रतिशतमा सीमित गरेपछि ती औषधिको मूल्य उल्लेख्य रूपमा घटेको हो । केही औषधिको मूल्य त झन्डै ९६ प्रतिशतसम्म सस्तिएको छ ।
भारतमा भएको यो निर्णयले नेपालका क्यान्सर बिरामीलाई पनि राहत पुग्ने अपेक्षा गरिएको छ । नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने करिब ७० देखि ८० प्रतिशत औषधि भारतबाट आयात हुने भएकाले त्यहाँ मूल्य घट्दा नेपाली बजारमा पनि औषधि सस्तो हुन सक्ने चिकित्सक तथा औषधि व्यवसायीको भनाइ छ ।
यद्यपि भारतमा मूल्य घट्दैमा नेपालमा पनि स्वतः घट्ने कानुनी व्यवस्था छैन । औषधिको नयाँ खरिद मूल्य, आयातमा लाग्ने कर, भन्सार, ढुवानी तथा वितरण खर्चले नेपाली बजारमा कायम हुने अन्तिम मूल्य निर्धारण गर्ने भएकाले भारतीय निर्णयको लाभ नेपाली बिरामीसम्म पु¥याउन सरकारी पहल र आयातकर्ताको जिम्मेवारी दुवै महत्त्वपूर्ण हुने देखिन्छ ।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार भारतमा किमोथेरापीमा प्रयोग हुने औषधिदेखि विभिन्न प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने औषधिको मूल्य समायोजन गरिएको छ । यसले नेपालका बिरामीलाई पनि आर्थिक राहत दिन सक्ने उनको भनाइ छ ।
तर, नयाँ अनुसन्धानबाट विकास गरिएका इनोभेटिभ तथा नयाँ पुस्ताका सबै महँगा औषधि भने यो मूल्य समायोजनमा समेटिएका छैनन् । भारतले तोकेको सूचीमा परेका औषधि र नेपालमा आयात हुने ब्रान्डबीचको समानता पहिचान गरेर मात्रै नेपाली बजारमा पर्ने वास्तविक प्रभाव आकलन गर्न सकिने उनले बताए ।
नेपालमा क्यान्सर उपचारका औषधि उत्पादन गर्ने क्षमता सीमित रहेकाले आयातमा निर्भर हुनुपर्ने अवस्था छ । यस्तो अवस्थामा भारतमा भएको मूल्य कटौतीको लाभ नेपाली बिरामीसम्म पु¥याउन सरकारले पनि नीतिगत सहजीकरण गर्नुपर्ने डा. शाहीको सुझाव छ ।
यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागलगायत सम्बन्धित निकायलाई जानकारी गराइएको र सरकारले समेत आवश्यक अध्ययन गरिरहेको उनले बताए । भारतबाट औषधि आयात गर्दा लाग्ने कर तथा भन्सारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्न सके मूल्य घटाउने निर्णयको लाभ नेपाली बिरामीसम्म पु¥याउन थप सहज हुने उनको भनाइ छ ।
३० प्रतिशत मार्जिन
भारतको नेसनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी (एनपीपीए) ले गत अक्टोबर १७ मा १३७ प्रकारका गैर–अनुसूचित क्यान्सर औषधिमा व्यापारिक मार्जिन अधिकतम ३० प्रतिशतमा सीमित गर्ने निर्णय गरेको थियो । यो व्यवस्था नोभेम्बर ९ अर्थात् कात्तिक २३ देखि कार्यान्वयनमा आएको हो ।
भारतको औषधि मूल्य निर्धारणसम्बन्धी नियामक निकाय एनपीपीएले औषधि उत्पादकबाट वितरक, थोक बिक्रेता, खुद्रा विक्रेता तथा अस्पतालसम्म पुग्दा थपिने व्यापारिक नाफालाई नियन्त्रण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।
यसअघि मूल्य नियन्त्रणको दायरामा नपरेका गैरअनुसूचित औषधिमा अत्यधिक व्यापारिक मार्जिन कायम हुँदा बिरामीले औषधिको वास्तविक उत्पादन तथा बिक्री मूल्यभन्दा निकै बढी रकम तिर्नुपर्ने अवस्था थियो । त्यसलाई सम्बोधन गर्न सरकारले औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गर्ने प्रक्रियामै हस्तक्षेप गरेको हो ।
एनपीपीएको निर्णयअनुसार १३७ प्रकारका औषधिमा अधिकतम खुद्रा मूल्यको ३० प्रतिशतभन्दा बढी व्यापारिक मार्जिन राख्न नपाइने व्यवस्था छ ।
कति घट्याे मूल्य ?
भारत सरकारले सार्वजनिक गरेको विवरणअनुसार नोभेम्बर ९ सम्म ८५ औषधि उत्पादक कम्पनीले १३७ मध्ये १२१ प्रकारका औषधिसँग सम्बन्धित १ हजार ३६६ उत्पादनको संशोधित अधिकतम खुद्रा मूल्य सार्वजनिक गरिसकेका छन् ।
तीमध्ये पाँचमध्ये चारभन्दा बढी उत्पादनको मूल्य घटेको छ । झन्डै आधा उत्पादनको मूल्य ५० प्रतिशतभन्दा बढीले घटेको छ भने केही औषधिको मूल्यमा ९६.४५ प्रतिशतसम्म कटौती भएको छ ।
भारत सरकारले यो निर्णयबाट बिरामी तथा उनीहरूका परिवारले वार्षिक करिब ३ हजार ५४१ करोड भारतीय रुपैयाँ बचत गर्ने अनुमान गरेको छ । यो बचतको अनुमान सन् २०२५ अप्रिलदेखि २०२६ मार्चसम्मको औषधि बिक्री परिमाण र पुरानो तथा संशोधित मूल्यबीचको अन्तरका आधारमा गरिएको हो ।
क्यान्सरको उपचारमा प्रयोग हुने महँगा औषधिको मूल्य भारतमा ९४ प्रतिशतसम्म घटेको छ । भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने १३७ प्रकारका औषधिमा व्यापारिक नाफा अधिकतम ३० प्रतिशतमा सीमित गरेपछि विभिन्न कम्पनीका औषधिको मूल्यमा ठूलो कटौती भएको हो ।
भारतको नेसनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी ९एनपीपीए० ले सार्वजनिक गरेको संशोधित मूल्यसूचीअनुसार स्तन, फोक्सो, प्रोस्टेटलगायत विभिन्न प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुने औषधिको मूल्य उल्लेख्य रूपमा घटेको छ । केही औषधिको मूल्य ९४ प्रतिशतभन्दा बढीले घटेको छ भने एउटै औषधिको मूल्यमा भारु ४० हजारभन्दा बढी बचत हुने भएको छ ।
मूल्य घटाइएका औषधिमध्ये पाल्बोसिक्लिबको मूल्य सबैभन्दा बढी अर्थात् करिब ९४.५१ प्रतिशतले घटेको छ । त्यस्तै, प्याल्बोसिक्लिबपछि प्याल्बोसिक्लिब समूहमा पर्ने अर्को औषधि प्याल्बोसिक्लिब नभई एनपीपीए सूचीमा रहेको पाल्बोसिक्लिबकै अलग उत्पादन होइन, पाल्बोसिक्लिबको १२५ मिलिग्राम क्याप्सुलको मूल्य ९३.२७ प्रतिशतले घटेको विवरण छ ।
यसबाहेक एनास्ट्रोजोल, क्याबाजिटाक्सेल, ड्यासाटिनिब र कार्फिलजोमिबजस्ता औषधिको मूल्य पनि ८५ प्रतिशतभन्दा बढीले घटेको छ । एनपीपीएको नोभेम्बर ११ मा अद्यावधिक गरिएको मूल्यसूचीमा विभिन्न औषधिको पुरानो र नयाँ अधिकतम खुद्रा मूल्य सार्वजनिक गरिएको छ । यसअनुसार औषधिको प्याकेट वा भाइलअनुसार मूल्यमा ठूलो अन्तर आएको छ ।
स्तन क्यान्सरको उपचारमा प्रयोग हुने पाल्बोसिक्लिबको एक मिलिग्रामका १० ट्याब्लेटको पुरानो मूल्य भारु ६१८.७५ थियो । संशोधित मूल्यअनुसार यसको मूल्य घटेर भारु ३३.९५ कायम भएको छ । क्यान्सर उपचारमा प्रयोग हुने पाल्बोसिक्लिबको १२५ मिलिग्रामका २१ क्याप्सुलको मूल्य भारु ४० हजार ४२१.३३ बाट घटाएर भारु २ हजार ७२० कायम गरिएको छ ।
क्यान्सर उपचारमा प्रयोग हुने क्याबाजिटाक्सेल ६० मिलिग्राम इन्जेक्सनको एक भाइलको मूल्य भारु ४५ हजार ५०० थियो । नयाँ मूल्यअनुसार यो घटेर भारु ४ हजार ६२८ कायम भएको छ । ड्यासाटिनिब १०० मिलिग्रामका ६० ट्याब्लेटको मूल्य भारु १७ हजार ८११ बाट घटाएर भारु १ हजार ८०८ कायम गरिएको छ । यसबाट एक प्याकेटमा भारु १६ हजार ३ रुपैयाँ सस्तो भएको छ ।
क्यान्सर उपचारमा प्रयोग हुने कार्फिलजोमिब ६० मिलिग्राम इन्जेक्सनको एक भाइलको मूल्य भारु ३८ हजार १५६.२५ बाट घटेर भारु ५ हजार ७१५ कायम भएको छ ।
अबिराटेरोन एसिटेट २५० मिलिग्रामका १२८ ट्याब्लेटको मूल्य भारु ३० हजार ९९६ बाट घटाएर भारु ५ हजार ५८० कायम गरिएको छ । एक्सिटिनिब पाँच मिलिग्रामका १४ ट्याब्लेटको मूल्य भारु ५ हजार ७२४ बाट घटाएर भारु १ हजार ९७।२९ कायम गरिएको छ ।
बेभासिजुमाब ४०० मिलिग्राम इन्जेक्सनको एक भाइलको मूल्य भारु ४७ हजार ५३३.२० बाट घटाएर भारु १० हजार ३८६.३६ कायम गरिएको छ । प्रोस्टेट क्यान्सरको उपचारमा प्रयोग हुने इन्जालुटामाइड ८० मिलिग्रामका २८ ट्याब्लेटको मूल्य भारु २४ हजारबाट घटाएर भारु ५ हजार ६२.५० कायम गरिएको छ ।
एजासिटिडिन ३०० मिलिग्रामका १४ ट्याब्लेटको मूल्य भारु २४ हजार ६३७ बाट घटाएर भारु ९ हजार ३५६ कायम गरिएको छ । यसबाट एक प्याकेटमा भारु १५ हजार २८१ सस्तो भएको छ ।
२०१९ मै सुरु भएको थियो मूल्य नियन्त्रण
भारत सरकारले क्यान्सरका औषधिको व्यापारिक मार्जिन नियन्त्रण गरेको यो पहिलो पटक भने होइन । सन् २०१९ मा पनि एनपीपीएले ४२ प्रकारका गैर–अनुसूचित क्यान्सर औषधिमा व्यापारिक मार्जिन ३० प्रतिशतमा सीमित गर्ने कार्यक्रम ल्याएको थियो ।
त्यसबेला ५२६ ब्रान्डका औषधिको अधिकतम खुद्रा मूल्यमा उल्लेख्य कटौती भएको थियो । केही औषधिको मूल्य ९० प्रतिशतसम्म घटेको भारतीय सरकारी विवरणमा उल्लेख छ ।
पछिल्लो निर्णयले त्यसअघि सञ्चालन गरिएको कार्यक्रमलाई थप विस्तार गरेको हो । क्यान्सर उपचारमा प्रयोग हुने औषधिको मूल्य नियन्त्रण गर्न विशेषज्ञ चिकित्सक, अस्पतालका प्रतिनिधि तथा सरकारी अधिकारी सम्मिलित समितिले सिफारिस गरेका आधारमा १३७ प्रकारका औषधि छनोट गरिएको भारत सरकारले जनाएको छ ।
भारत सरकारले यसलाई बिरामीको उपचार खर्च घटाउने र महँगा औषधिमा सर्वसाधारणको पहुँच बढाउने नीतिगत हस्तक्षेपका रूपमा व्याख्या गरेको छ ।
नेपालमा पनि मूल्य घटाउने आयातकर्ताको प्रतिबद्धता
भारतमा औषधिको मूल्य घटेपछि नेपालमा पनि त्यसको लाभ बिरामीसम्म पु¥याउनुपर्ने माग उठेको छ । औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले भारतबाट आयात हुने औषधिको मूल्य घटेमा नेपालमा पनि मूल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतमा मूल्य घटेपछि नेपालमा पनि घट्नुपर्ने बताउँदै आचार्यले औषधि आयातकर्ताहरू बिरामीप्रति जिम्मेवार रहेको उल्लेख गरे । भारतमा औषधिको मूल्य बढ्दा नेपालमा पनि बढ्ने र घट्दा नेपालमा पनि घट्ने स्वचालित मूल्य समायोजन प्रणाली आवश्यक रहेको उनको भनाइ छ ।
भारतको कानुन नेपालमा स्वतः लागू नहुने भएकाले त्यहाँ मूल्य घट्दैमा नेपालमा पनि कानुनी रूपमा मूल्य घटाउनुपर्ने बाध्यता नरहे पनि व्यावसायिक जिम्मेवारीका आधारमा आयातकर्ताले मूल्य समायोजन गर्नुपर्ने उनले बताए ।
आचार्यले चार महिनाअघि भारतमा क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको मूल्य बढ्दा नेपालमा पनि मूल्य समायोजनको विषय उठाएको स्मरण गरे । त्यसबेला स्वास्थ्य मन्त्रीले संसद्मै मूल्य समायोजन गर्ने प्रतिबद्धता जनाए पनि स्वचालित मूल्य प्रणाली लागू गर्नेतर्फ पर्याप्त ध्यान नदिएको उनको आरोप छ ।
कर घटाउन व्यवसायीको माग
भारतमा औषधिको मूल्य घटे पनि नेपाली बजारमा त्यसको प्रभावकारी कार्यान्वयनका लागि आयात लागत घटाउनु आवश्यक देखिन्छ । भारतबाट औषधि आयात गर्दा लाग्ने कर, भन्सार, ढुवानी तथा वितरण खर्चले मूल्यमा प्रभाव पार्ने भएकाले नेपाल सरकारले यस विषयमा सहजीकरण गर्नुपर्ने व्यवसायीको माग छ ।
विशेषगरी क्यान्सर उपचारमा प्रयोग हुने औषधि अत्यावश्यक र जीवनरक्षक प्रकृतिका हुने भएकाले तिनको आयातमा लाग्ने कर तथा भन्सारसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने अध्यक्ष आचार्यको भनाइ छ ।
भारतमा उत्पादक तथा वितरक तहमा मूल्य घटे पनि नेपालमा आयात हुँदा लाग्ने अतिरिक्त खर्च र वितरण प्रणालीका कारण बिरामीले अपेक्षित राहत नपाउने जोखिम छ । त्यसैले भारतबाट आउने क्यान्सर औषधिको संशोधित मूल्यसूची प्राप्त गर्ने, पुरानो र नयाँ मूल्य तुलना गर्ने तथा नेपालमा कायम मूल्य पुनरावलोकन गर्ने प्रक्रिया तत्काल अघि बढाउनुपर्ने देखिन्छ ।
नेपालमा क्यान्सर उपचारको खर्च औषधिमा मात्र सीमित हुँदैन । परीक्षण, शल्यक्रिया, रेडियोथेरापी, किमोथेरापी, अस्पताल बसाइ र नियमित स्वास्थ्य परीक्षणले बिरामीको आर्थिक भार थप बढाउँछन् । कतिपय बिरामीले उपचारका लागि घरजग्गा बेच्नुपर्ने, ऋण लिनुपर्ने वा उपचार नै बीचमा रोक्नुपर्ने अवस्था पनि आउने गरेको छ ।
विशेषगरी लामो समयसम्म नियमित किमोथेरापी गर्नुपर्ने र महँगा औषधि प्रयोग गर्नुपर्ने बिरामीका लागि औषधिको मूल्यमा हुने कटौतीले ठूलो राहत दिन सक्छ । एउटै औषधि पटक–पटक प्रयोग गर्नुपर्ने अवस्थामा त्यसको मूल्यमा केही हजार रुपैयाँ मात्रै घट्दा पनि उपचारको कुल खर्चमा उल्लेख्य अन्तर पर्न सक्छ ।
त्यसैले भारतमा भएको मूल्य कटौतीलाई नेपालमा पनि कार्यान्वयन गर्न सरकारले नीतिगत पहल गर्नुपर्ने देखिन्छ । औषधि आयातकर्ता र वितरकले संशोधित मूल्यको लाभ बिरामीसम्म पु¥याउने, सरकारले आयातमा लाग्ने कर तथा भन्सारको पुनरावलोकन गर्ने र औषधि व्यवस्था विभागले बजार अनुगमन गर्ने व्यवस्था गर्न सके भारतीय निर्णयबाट नेपाली बिरामीले पनि वास्तविक राहत पाउन सक्छन् ।
क्यान्सरजस्तो जटिल रोगको उपचारमा औषधिको मूल्य घट्नु बिरामीका लागि केवल व्यावसायिक मूल्य समायोजनको विषय होइन, उपचारलाई निरन्तरता दिन सक्ने आर्थिक आधार पनि हो । भारतमा सुरु भएको मूल्य घटाउने यो पहलको लाभ नेपालका बिरामीसम्म पु¥याउन अब सरकार र औषधि व्यवसायीको सक्रियता आवश्यक देखिएको छ ।