६ वटा बैंकले घटाए ब्याज, औसत ब्याजदर नै ३.८७ प्रतिशतमा झर्यो

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी ६ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर मंसिर महिनाका लागि ०.११ प्रतिशत बिन्दुले घटेर ३.८७ प्रतिशतमा झरेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ३.९८ प्रतिशत थियो ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.१ प्रतिशत बिन्दुले घटेर २.९७ प्रतिशतमा कायम भएको छ । कात्तिक महिनामा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर २.९९ प्रतिशत थियो ।

मंसिर महिनाका लागि ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

त्यस्तै, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंकले मंसिर महिनाका लागि ब्याजदर यथावत् राखेका छन् ।

null

Share News