इम्युनिटी मात्र होइन, छाला र रगतका लागि पनि उत्तिकै आवश्यक भिटामिन ‘सी’

काठमाडौं । भिटामिन ‘सी’लाई सामान्यतया रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन आवश्यक पोषक तत्वका रूपमा चिनिन्छ । तर यसको काम शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनेमा मात्र सीमित छैन । छाला स्वस्थ राख्न, घाउ निको पार्न, गिजालाई बलियो बनाउन र शरीरमा आइरनको अवशोषण बढाउन पनि भिटामिन ‘सी’ महत्त्वपूर्ण हुन्छ ।

भिटामिन ‘सी’लाई एस्कोर्बिक एसिड पनि भनिन्छ । यो पानीमा घुलनशील भिटामिन हो । शरीरले यसलाई लामो समयसम्म सञ्चय गरेर राख्न सक्दैन । त्यसैले दैनिक खानपानमा भिटामिन ‘सी’ पाइने फलफूल तथा तरकारी समावेश गर्नु आवश्यक हुन्छ ।

भिटामिन ‘सी’ले शरीरमा एन्टिअक्सिडेन्टका रूपमा समेत काम गर्छ । यसले प्रदूषण, धुवाँ र सूर्यको परावैजनी किरणलगायतका कारण शरीरमा उत्पन्न हुने फ्री रेडिकल्सबाट कोषिकालाई हुने क्षति कम गर्न मद्दत गर्छ । 

छाला र घाउ निको पार्न भिटामिन ‘सी’ किन आवश्यक ?

भिटामिन ‘सी’को महत्त्वपूर्ण काम शरीरमा कोलाजेन नामक प्रोटिन निर्माणमा सहयोग गर्नु हो । कोलाजेन छाला, हड्डी, टेन्डन, लिगामेन्ट र रक्तनलीको संरचनाका लागि आवश्यक प्रोटिन हो ।

शरीरमा चोटपटक लाग्दा छालाको मर्मत र नयाँ तन्तु निर्माण गर्न कोलाजेन आवश्यक पर्छ । यस्तो अवस्थामा पर्याप्त भिटामिन ‘सी’ले घाउ निको पार्ने प्राकृतिक प्रक्रियालाई सहयोग गर्छ ।

त्यसैले छालालाई स्वस्थ राख्न र चोटपटकपछि घाउ निको हुने प्रक्रियालाई सहज बनाउन पनि भिटामिन ‘सी’ महत्त्वपूर्ण मानिन्छ ।

शरीरमा लामो समयसम्म भिटामिन ‘सी’को गम्भीर कमी भएमा स्कर्भी नामक रोग लाग्न सक्छ । यो अवस्था अहिले तुलनात्मक रूपमा कम देखिए पनि सीमित खानपान गर्ने वा पोषक तत्वको अवशोषणमा समस्या भएका व्यक्तिमा यसको जोखिम रहन सक्छ ।

भिटामिन ‘सी’को कमी हुँदा कोलाजेन निर्माण प्रभावित हुन्छ । यसले गर्दा गिजा सुन्निने, गिजाबाट रगत आउने, छालामा साना रातो वा बैजनी धब्बा देखिने र सामान्य चोट लाग्दा पनि सजिलै नीलडाम बस्ने समस्या हुन सक्छ ।

त्यस्तै, घाउ निको हुन ढिलाइ हुने, थकान महसुस हुने, शरीर कमजोर हुने, जोर्नी दुख्ने र कपालमा समेत परिवर्तन देखिन सक्छ । 

शरीरमा आइरनको अवशोषण बढाउँछ

भिटामिन ‘सी’ले शरीरमा आइरनको अवशोषण बढाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । आइरन हेमोग्लोबिन निर्माणका लागि आवश्यक तत्व हो । हेमोग्लोबिनले रातो रक्तकोषिकामार्फत शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउँछ ।

शरीरमा आइरनको कमी हुँदा रक्तअल्पता हुन सक्छ । यस्तो अवस्थामा थकान, कमजोरी, चक्कर लाग्ने र सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन सक्छन् ।

दाल, गेडागुडी, चना, राजमा र हरियो सागसब्जी वनस्पतिजन्य आइरनका राम्रा स्रोत हुन् । तर यी खाद्य पदार्थमा पाइने आइरन शरीरले तुलनात्मक रूपमा कम मात्रामा अवशोषण गर्छ ।

यस्तो आइरनलाई ननहेम आइरन भनिन्छ । भिटामिन ‘सी’ले यसलाई शरीरले सजिलै अवशोषण गर्न सक्ने स्वरूपमा परिवर्तन गर्न मद्दत गर्छ । त्यसैले आइरनयुक्त खानेकुरासँगै भिटामिन ‘सी’ पाइने फलफूल तथा तरकारी खानु फाइदाजनक हुन्छ । 

भिटामिन ‘सी’ प्राप्त गर्न अनिवार्य रूपमा औषधि वा सप्लिमेन्ट खानुपर्दैन । दैनिक खानपानमा विभिन्न फलफूल तथा तरकारी समावेश गरेर यसको आवश्यकता पूरा गर्न सकिन्छ ।

भिटामिन ‘सी’का प्रमुख प्राकृतिक स्रोतमा अमला, अम्बा, सुन्तला, मौसम, कागती, भेडे खुर्सानी, गोलभेँडा र ब्रोकाउली पर्छन् । यी खाद्य पदार्थलाई नियमित खानपानमा समावेश गर्दा शरीरलाई आवश्यक भिटामिन ‘सी’ प्राप्त गर्न सहयोग पुग्छ ।

समग्रमा भिटामिन ‘सी’ रोग प्रतिरोधात्मक क्षमता कायम राख्न मात्र नभई छाला र गिजा स्वस्थ राख्न, घाउ निको पार्न, एन्टिअक्सिडेन्टका रूपमा काम गर्न र वनस्पतिजन्य आइरनको अवशोषण बढाउन पनि आवश्यक छ ।

तर भिटामिन ‘सी’ सेवन गर्दैमा रुघाखोकी वा अन्य संक्रमण पूर्ण रूपमा रोकिन्छ भन्ने हुँदैन । यसको सप्लिमेन्ट आवश्यक परेमा चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्नु उचित हुन्छ । 

Share News