काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको १२ करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता तथा आपराधिक विश्वासघात प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नविन किशोर शर्मालाई पक्राउ गरेको छ ।
सीआईबीका अनुसार सर्लाहीको रामनगर गाउँपालिका-३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२५, भैंसेपाटी बस्ने ४५ वर्षीय शर्मालाई बिहीबार भैंसेपाटीबाट नियन्त्रणमा लिइएको हो ।
नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैरकानूनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई गम्भीर हानि नोक्सानी पुर्याएको भन्ने उजुरीमाथि भएको प्रारम्भिक छानबिनका क्रममा शर्माको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।
तत्कालीन महाप्रबन्धक, उच्च प्रशासनिक अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको पूर्वयोजना र मिलेमतोमा सङ्गठित सञ्जाल खडा गरी संस्थानलाई प्रत्यक्ष रूपमा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ नोक्सानी पुर्याई गैरकानूनी लाभ लिएको पुष्टि भएको सीआईबीले जनाएको छ ।
उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ‘आपराधिक विश्वासघात गर्न नहुने कसूर’ र ‘सङ्गठित अपराध निवारण ऐन, २०७०’ विपरीतको अपराध देखिएकोले काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिई शर्मालाई पक्राउ गरिएको हो । पक्राउ परेका शर्मामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।