सानो लक्ष्य पनि रक्षा गर्ने आत्मविश्वास छ - सुदूरपश्चिमका बलर हेमन्त धामी

काठमाडौं । सुदूरपश्चिम रोयल्सका बलर हेमन्त धामीले सामान्य लक्ष्य भए पनि बिना दबाब रक्षा गर्ने आत्मविश्वास आफ्नो टोलीमा रहेको बताएका छन् ।

काठमाडौं गोर्खाजमाथि जितपछि सुदूरपश्चिमका बलर हेमन्तले सामान्य लक्ष्य दिए पनि बलिङ युनिट राम्रो भएकाले दबाबबिना खेल्न सक्ने बताएका हुन् । सुदूरपश्चिमले लगातार दोस्रो खेलमा सामान्य लक्ष्य रक्षा गरेको थियो । जनकपुर बोल्ट्ससँग १२० रन र काठमाडौंसँग १२६ रनको लक्ष्य सुदूरपश्चिमले लगातार रक्षा गरेको थियो ।

सुदूरपश्चिमका बलर हेमन्तले आफ्नो टोलीको बलिङ राम्रो रहेकाले यी लक्ष्य रक्षा गर्ने आत्मविश्वास रहेको उल्लेख गरे । ब्याटरका लागि पिच त्यति सहज नभएको र त्यसले गर्दा पावरप्लेमा रन बटुल्न सहज नभएको उनी बताउँछन् । डेथ ओभरमा धेरै गति नदिने र ब्याटरको मुभमेन्टअनुरूप बलिङ गर्ने रणनीति लिएको उनले उल्लेख गरे ।

हेमन्तले एनपीएलकै सफल बलर स्कट कुग्गेलिनले कुन अवस्थामा कसरी बलिङ गर्ने भन्नेबारे आफूलाई सिकाउने गरेको पनि बताएका छन् । बलिङमा आफूलाई साथ मिलेको अवस्थामा डेथ ओभरमा बलिङ गर्न आत्मविश्वास पनि बढेको उनी बताउँछन् ।

काठमाडौं गोर्खाजका गणेश गौतमले पावरप्लेमा राम्रो सुरुआत भए पनि त्यसलाई निरन्तरता दिन नसकेको बताए । बलिङमा पनि पावरप्लेमा राम्रो प्रदर्शन गरेको उनी बताउँछन् । पिचले स्पिनरलाई मद्दत गरेको तर क्याच छाड्दा खेलमा समस्या भएको गौतमले बताए ।

आफ्ना लागि पहिलो खेलमा केही दबाब महसुस भएको उनी बताउँछन् । तर, यस खेलमा आत्मविश्वासका साथ बलिङ गरेको उनको भनाइ छ । गणेशले आफू ट्यालेन्ट हन्टबाट आएको र नियमित घरेलु क्रिकेटमा व्यस्त रहेको उल्लेख गरे ।

डेभिड वार्नर टोलीमा हुँदा टोलीको आत्मविश्वास र उत्साह निकै राम्रो रहेको उनी बताउँछन् । अहिले पनि त्यही उत्साह टोलीमा कायम रहेको उनले स्पष्ट पारे । आगामी खेलमा जित निकाल्दै लिगको शीर्ष दुई स्थानमा रहने उनको विश्वास छ । 

Share News