आदर्श निकेतनका शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षक नियुक्ति लिएको आरोपमा एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

आयोगले मोरङको ग्रामथान गाउँपालिका–५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयका शिक्षक सुरेन्द्र कुमार विश्वास थारुविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार विश्वासले निम्न माध्यमिक तहको गणित विषयको राहत शिक्षक पदमा नियुक्ति लिन नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

उनले भारतको बिहार स्कुल एक्जामिनेसन बोर्डबाट जारी भएको भनिएको आईएस्सी तहको प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

उनले २०६३ असार १५ गतेदेखि नियुक्ति पाउन उक्त प्रमाणपत्र पेस गरेका थिए ।

नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको ओहदा प्राप्त गरेको भन्दै आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार सजायको मागदाबी गरेको छ ।

आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । 

Share News