काठमाडौं । देशमा पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।
केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन्। नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन। तर आइतबारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने देखिएको छ।
आइतबार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुन सक्ने मौसमविद् पोखरेलले बताए। त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
पश्चिमी वायुको प्रभावबाट हुने वर्षासँगै केही स्थानमा असिना, मेघगर्जन र चट्याङको सम्भावना पनि रहने उनको भनाइ छ। विशेषगरी अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा वर्षा तथा असिनाले क्षति पुर्याउन सक्ने भएकाले किसानले सावधानी अपनाउनुपर्ने देखिन्छ।
मौसमविद् पोखरेलका अनुसार आगामी दिनमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएमा पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात गराउन सक्छ। यद्यपि, अहिले देखिएको प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको भने छैन। यसबाट भारी वर्षाको सम्भावना नरहेको र अधिकांश स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ।
उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमसम्म हिमपात हुन सक्ने सम्भावना रहे पनि यसलाई असामान्य मौसमी जोखिमका रूपमा लिनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे। हिउँदको समयमा हुने वर्षा र हिमपातले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिने उनको भनाइ छ।
उनका अनुसार पश्चिमी वायुबाट विकसित हुने न्यूनचापीय प्रणाली छिटो गतिमा एक स्थानबाट अर्को स्थानतर्फ सर्ने प्रकृतिको हुन्छ। त्यसैले यस्तो प्रणाली सक्रिय हुँदा केही समय वर्षा गराएर पार हुने गर्छ। असिनासमेत सबै क्षेत्रमा पर्ने नभई निश्चित स्थानमा मात्रै सीमित हुने सम्भावना रहन्छ।
यस वर्ष मनसुनका समयमा एल निनोको प्रभावका कारण कम वर्षा हुन सक्ने आकलन गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको मौसमविद् पोखरेलले बताए। त्यसमा पश्चिमी वायुको समेत प्रभाव देखिएको उनको भनाइ छ।
एल निनोको प्रभाव मनसुन र हिउँदमा फरक हुने भएकाले मनसुनमा जस्तै हिउँदमा पनि सुक्खा नै हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनले बताए। हिउँदमा पश्चिमी वायुबाट विकसित हुने न्यूनचापीय प्रणाली सक्रिय हुँदा वर्षा र हिमपातको सम्भावना रहने मौसमविद् पोखरेलको भनाइ छ। यद्यपि, समग्र हिउँदमा कस्तो मौसमी अवस्था रहनेछ भन्ने विषयमा विभागले छुट्टै मौसमी आकलन सार्वजनिक गर्नेछ।
उनले भने, ‘आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ। पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ। तर आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। बागमती र कोशी प्रदेशका पहाडी भूभागमा पनि छिटपुट वर्षा हुन सक्छ। वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले विशेषगरी धानबाली काट्न बाँकी रहेका किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। धान र पराल सुरक्षित राख्न आवश्यक सावधानी अपनाउनुपर्छ।'
मौसमविद् पोखरेलले विभागले जारी गर्ने मौसम पूर्वानुमान तथा परामर्श नक्सामा नियमित अद्यावधिक भइरहन पनि आग्रह गरे। विशेषगरी पहेँलो सङ्केत भएका क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी सूचनामा ध्यान दिनुपर्ने उनको सुझाव छ।
समग्रमा आगामी मौसमी प्रणालीबाट ठूलो विपद्को जोखिम नरहे पनि कृषि क्षेत्रमा हुन सक्ने सम्भावित क्षतिलाई ध्यान दिनुपर्ने देखिएको छ। विशेषगरी धान काट्न बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर बाली भित्र्याउने र काटिसकेको धान तथा पराल सुरक्षित राख्ने तयारी गर्नुपर्ने मौसमविद्को सुझाव छ।