बीमामा महिला सहभागिता बलियो, नेतृत्वमा भने पुरुषकै वर्चस्व

काठमाडौं । बीमा क्षेत्रको नेतृत्व तथा उच्च निर्णयकर्ता तहमा महिलाको उपस्थिति निकै न्यून रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘इन्स्योरेन्स थ्रु अ जेन्डर लेन्सः अ फेमिनिस्ट एसेसमेन्ट इन नेपाल’ विषयक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । 

अध्ययन प्रतिवेदनअनुसार बीमा क्षेत्रमा महिलाको सहभागिता प्रारम्भिक तह र अभिकर्ताका रूपमा तुलनात्मक रूपमा बलियो देखिए पनि नेतृत्व तहमा भने पुरुषकै वर्चस्व देखिएको छ । अध्ययनअनुसार बीमा कम्पनीका ग्राहकका रूपमा महिलाको सहभागिता उल्लेख्य देखिएको छ । तर सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च व्यवस्थापन तहमा महिलाको प्रतिनिधित्व कमजोर देखिएको हो ।

प्रतिवेदनअनुसार जीवन बीमा कम्पनीको सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व २२ प्रतिशत मात्रै छ भने पुरुषको हिस्सा ७८ प्रतिशत छ । त्यस्तै, कार्यकारी व्यवस्थापन अर्थात्  प्रमुख कार्यकारी अधिकृत (सीईओ)  तथा उच्च अधिकारी तहमा महिलाको उपस्थिति १३ प्रतिशत मात्रै रहेको छ । यस तहमा पुरुषको प्रतिनिधित्व ८७ प्रतिशत छ । व्यवस्थापक तहमा भने महिलाको उपस्थिति २६ प्रतिशत र पुरुषको ७४ प्रतिशत रहेको छ ।

null
 
निर्जीवन बीमा क्षेत्रमा पनि अवस्था उस्तै छ । यस क्षेत्रका कम्पनीको सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व १९ प्रतिशत मात्रै छ । त्यस्तै पुरुषको हिस्सा ८१ प्रतिशत छ । त्यस्तै कार्यकारी व्यवस्थापनमा महिलाको सहभागिता २२ प्रतिशत छ भने पुरुषको ७८ प्रतिशत रहेको छ । त्यस्तै व्यवस्थापक तहमा ३१ प्रतिशत महिला  र ६९ प्रतिशत पुरुष रहेको रहेको अध्ययनले देखाएको छ ।

nullलघु बीमा क्षेत्रमा पनि महिलाको उपस्थिति कमजोर

लघु बीमा क्षेत्रमा समेत उच्च नेतृत्वमा महिलाको उपस्थिति कमजोर नै देखिएको छ । लघु जीवन बीमा कम्पनीको सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व ३२ प्रतिशत छ । जबकि पुरुषको सहभागिता ६८ प्रतिशत रहेको छ । त्यस्तै सीईओ तथा कार्यकारी व्यवस्थापनमा महिला सहभागिता ११ प्रतिशत मात्रै छ । उक्त तहमा पुरुषको सहभागिता ८९ प्रतिशत रहेको छ । व्यवस्थापक तहमा २८ प्रतिशत महिलाको उपस्थिति रहेको अध्ययनले देखाएको छ भने पुरुषको सहभागिता ७१ प्रतिशत रहेको छ ।

त्यस्तै, लघु निर्जीवन बीमा कम्पनीको सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व ३२ प्रतिशत, कार्यकारी व्यवस्थापनमा १७ प्रतिशत र व्यवस्थापक तहमा ३६ प्रतिशत रहेको छ । यता सञ्चालक समितिमा पुरुषको सहभागिता ६८ प्रतिशत, कार्यकारी व्यवस्थापनमा ८३ प्रतिशत र व्यवस्थापकमा ६४ प्रतिशत रहेको छ । 

अध्ययनले महिलाहरूलाई नेतृत्व तहसम्म पुग्न मात्र नभई त्यहाँ टिकिरहन पनि चुनौती रहेको देखाएको छ । वरिष्ठ कार्यकारी नेतृत्वमा पुगेका महिलाले पुरुषको तुलनामा बढी दरमा पद छाड्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
निर्जीवन बीमाको कार्यकारी व्यवस्थापनमा महिलाको पद छाड्ने दर ९.१ प्रतिशत रहेको छ भने पुरुषको ७.७ प्रतिशत छ । त्यस्तै, लघु निर्जीवन बीमाको कार्यकारी तहमा महिलाको पद छाड्ने दर २५ प्रतिशत पुगेको छ । पुरुषको यस्तो दर भने ५.३ प्रतिशत मात्रै रहेको छ ।

बीमा कम्पनीहरूमा लैङ्गिक समानता प्रवद्र्धन गर्ने संस्थागत नीति र अनुगमन प्रणालीको अभाव पनि महिला नेतृत्व विकासको प्रमुख चुनौतीका रूपमा देखिएको छ । अधिकांश कम्पनीमा लैङ्गिक आधारमा पदोन्नति तथा तलब पुनरावलोकन गर्ने व्यवस्थित प्रणाली नरहेको अध्ययनले औंल्याएको छ ।

प्रारम्भिक तहमा महिलाको सहभागिता बलियो

यद्यपि, बीमा क्षेत्रमा महिलाको सहभागिताको आधार भने कमजोर छैन । अध्ययन रिर्पोटअनुसार जीवन बीमा कम्पनीमा ५७ प्रतिशत महिला बीमा अभिकर्ता रहेको देखाएको छ भने ४३ प्रतिशत पुरुष अभिकर्ता रहेका छन् । त्यस्तै लघु जीवन बीमा कम्पनीमा ६२ प्रतिशत महिला अभिकर्ता र ३८ प्रतिशत पुरुष अभिकर्ता रहेका छन् ।  त्यस्तै निर्जीवन बीमा कम्पनीहरुमा ४० प्रतिशत महिला अभिकर्ता र ३४ प्रतिशत पुरुष अभिकर्ता रहेको पाईएको छ । 

यो तथ्यांकले महिला सहभागिता प्रारम्भिक तहमा राम्रो भए पनि उनीहरूलाई व्यवस्थापकीय र कार्यकारी नेतृत्वसम्म पु¥याउने प्रणाली प्रभावकारी हुन नसकेको संकेत गर्छ ।

अध्ययनले बीमा क्षेत्रमा महिला सहभागिता बढाउनु मात्रै पर्याप्त नहुने देखाएको छ । महिलालाई नेतृत्व तहसम्म पुग्ने अवसर, पदोन्नतिमा समानता, तलब तथा सुविधामा पारदर्शिता र नेतृत्वमा टिकिरहने अनुकूल संस्थागत वातावरण निर्माण गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।

Share News