तलबमा असन्तुष्ट, बढुवामा प्रश्न

काठमाडौं । बीमा कम्पनीमा कार्यरत कर्मचारीहरू पारिश्रमिक, सुविधा र बढुवा प्रक्रियाप्रति असन्तुष्टि रहेको एक अध्ययनले देखाएको छ । नेपाल बीमा प्राधिकरणले ‘नेपाली बीमा कम्पनीहरूमा कर्मचारीको कार्यसन्तुष्टि र त्यसका निर्धारक तत्वहरू’ शीर्षक मा गरेको अध्ययनले यस्तो देखाएको हो । 

प्रतिवेदन तयार गर्नुअघि प्राधिकरणले बीमा क्षेत्रमा कार्यरत ३ हजार ७६७ कर्मचारीहरुमाथि प्रतिक्रिया लिईएको थियो । अध्ययन प्रतिवेदनअनुसार बीमा कम्पनीका ४२ प्रतिशत कर्मचारीले बैंक तथा वित्त क्षेत्रका अन्य कम्पनीको तुलनामा आफ्नो तलब निकै कम भएको बताएका छन् । त्यस्तै ४१ प्रतिशत कर्मचारीले आफूले पाउने गैरआर्थिक सुविधा पर्याप्त नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

अध्ययनमा बीमा क्षेत्रमा कार्यरत कर्मचारीको कार्यसन्तुष्टि मापन गर्दा कामसँग सम्बन्धित पक्ष, व्यावसायिक विकास, सुपरिवेक्षकको सहयोग, संस्थागत संस्कृति, पारिश्रमिक तथा सुविधा र काम तथा व्यक्तिगत जीवनबीचको सन्तुलनलाई आधार बनाइएको थियो । 

क्षतिपूर्ति तथा तलब सुविधा

अध्ययनमा सहभागी कर्मचारीहरूको सबैभन्दा धेरै असन्तुष्टि पारिश्रमिक, सुविधा, बढुवामा नै देखिएको छ । पाँच पूर्णाङ्कमा कम्पनीको सेवा सुविधा तथा तलबको पर्याप्तामा सबैभन्दा कम अर्थात् २.८५ औसत अंक प्राप्त गरेको छ ।

यस खण्डका पाँचमध्ये तीनवटा सूचकको औसत अंक ३.० भन्दा कम वा त्यसको हाराहारीमा मात्रै रहेको छ । यसले बीमा क्षेत्रका कर्मचारीहरू तलब तथा सुविधाप्रति समग्रमा असन्तुष्ट रहेको देखाएको छ ।

अन्य संस्थाको तुलनामा न्युन तलब

यस शीर्षकमा सबैभन्दा कम २.८५ औसत अंक प्राप्त भएको छ । ४२ प्रतिशत उत्तर दाताले यस विषयमा आफ्नो असहमति वा पूर्ण असहमति जनाएका छन् । यसले अन्य वित्तीय संस्थामा समान पदमा कार्यरत कर्मचारीको तुलनामा बीमा क्षेत्रका कर्मचारीले आफूले पाउने पारिश्रमिक कम रहेको देखाएको छ ।

विशेषगरी बैंकिङ क्षेत्रको तुलनामा बीमा कम्पनीले प्रतिस्पर्धी पारिश्रमिक तथा सुविधा उपलब्ध गराउन नसकेको देखाएको छ । प्रतिस्पर्धी पारिश्रमिक प्याकेज उपलब्ध गराउन नसक्नु बीमा क्षेत्रका लागि दक्ष जनशक्ति आकर्षित गर्न र टिकाइराख्न प्रमुख संरचनात्मक कमजोरीका रूपमा प्रतिवेदनमा औंल्याएको छ ।

गैरवित्तीय सुविधा 

यस सूचकमा औंसत अंक २.८७ प्रतिशत मात्रै रहेको छ । ४१ प्रतिशतभन्दा बढी उत्तरदाताले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यस अन्तर्गत बिदा सुविधा, स्वास्थ्य उपचार सुविधा, ऋण सुविधा, बीमा सुरक्षा, बोनस तथा सवारीसाधन सुविधालगायतका विषय समेटिएका छन् । बीमा कम्पनीमा अनिवार्य बिदाको व्यवस्था नहुनु, स्वास्थ्य बीमा सुविधा पर्याप्त नहुनु, विशेषगरी स्वास्थ्य उपचार सुविधामा कर्मचारीका आमाबुबालाई समावेश नगरिनु, कर्मचारी ऋण सुविधा अपर्याप्त हुनु, पोसाक तथा आवतजावत खर्च उपलब्ध नहुनु र अतिरिक्त समय काम गरेबापत पर्याप्त पारिश्रमिक नपाउनु प्रमुख समस्या देखाएको छ । यी कमजोरीले बीमा क्षेत्रमा गैरवित्तीय सुविधा संरचना पर्याप्त रूपमा विकास हुन नसकेको प्रतिवेदनले देखएको छ । जबकि बैंकिङ क्षेत्रमा समान प्रकृतिका पदमा कार्यरत कर्मचारीले तुलनात्मक रूपमा यस्ता सुविधा पाउने गरेका छन् ।

आधारभूत तलब तथा भत्ता

यस सूचककाे औसत अंक ३.०३ रहेको छ । करिब ३५ प्रतिशत उत्तर दाताले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अधिकांश उत्तरदाता स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक योग्यता पूरा गरेका छन् । तर, प्रारम्भिक तथा अधिकृत तहका पदमा कार्यरत कर्मचारीले समेत आफ्नो तलबले आधारभूत जीवनयापनको खर्च धान्न कठिन भएको जवाफ दिएका छन् । विशेषगरी महँगी बढ्दै गएको अवस्थामा तलब पर्याप्त नभएको उनीहरूको गुनासो छ । कर्मचारीहरूले समयमै तलब पुनरावलोकन र वृद्धि गर्नुपर्ने माग गरेका छन् । कतिपय कर्मचारीले लामो समयदेखि तलब पुनरावलोकन नभएको तर यस अवधिमा जीवनयापनको लागत भने उल्लेख्य रूपमा बढेको बताएका छन् ।

कार्य समयप्रतिको सन्तुष्टि

यस सूचककाे औसत अंक ३.४४ रहेको छ, जसले कर्मचारीहरू कार्य समयप्रति मध्यम रूपमा सन्तुष्ट रहेको देखाउँछ । तर, गुणात्मक अध्ययनले यसमा थप पक्ष उजागर गरेको छ । औपचारिक रूपमा तोकिएको कार्य समयलाई धेरै कर्मचारीले स्वीकार गरे पनि व्यवहारमा कार्यालय समयभन्दा बढी काम गर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ ।

विशेषगरी महिनाको अन्त्य र आर्थिक वर्षको अन्त्यमा हिसाब मिलान गर्ने समय, लक्ष्य पूरा गर्नुपर्ने अवधि तथा कार्यालय समय बाहिर व्यवस्थापनबाट आउने निर्देशनका कारण अतिरिक्त समय काम गर्नुपर्ने बाध्यता कर्मचारीलाई छ । यस्तो अतिरिक्त काम गरेबापत थप पारिश्रमिक नपाउने अवस्थाले कर्मचारीमा असन्तुष्टि रहेको अध्ययनले देखाएको छ ।  यसले काम तथा व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न कठिनाइ सिर्जना गरेको पनि अध्ययनले देखाएको छ ।

काम र व्यक्तिगत जीवनबीचको सन्तुलन

यस सूचकको औसत अंक ३.२६ रहेको छ । यसले कर्मचारीहरू यस विषयमा मध्यम रूपमा सन्तुष्ट रहेको देखाए पनि करिब ३० प्रतिशत उत्तरदाताले असन्तुष्टि जनाएका छन् । विशेषगरी आफ्नो घर तथा परिवारबाट टाढा सरुवा भई काम गर्नुपर्ने कर्मचारी, साना बालबालिका वा आश्रित परिवारका सदस्यको जिम्मेवारी भएका कर्मचारी तथा पर्याप्त जनशक्ति नभएका शाखा कार्यालयमा कार्यरत कर्मचारीका लागि काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न चुनौतीपूर्ण रहेको अध्ययनले देखाएको छ।

यस्ता शाखामा सीमित कर्मचारीले बढी कार्यभार सम्हाल्नुपर्ने भएकाले उनीहरूको व्यक्तिगत जीवनसमेत प्रभावित हुने गरेको छ ।

Share News