भोटेकोसी बाढीमा बेपत्ता २ हजार ४६५ जनाको विवरण सार्वजनिक, दाबी पेस गर्न आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का घटनामा (भोटेकोसी बाढी) का कारण बेपत्ता भएका २ हजार ४६५ जनाको विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै विभिन्न जिल्लामा विपद्का कारण बेपत्ता भएका व्यक्तिको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार स्वदेशी २ हजार २ हजार २९४ र विदेशी १७१ जना गरी कुल २ हजार ३९४ जना बेपत्ताको विवरण सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको सिफारिसका आधारमा स्वदेशी बेपत्ता व्यक्तिको विवरण तयार गरिएको हो । त्यस्तै, विदेशमा बेपत्ता भएका नेपाली नागरिकको विवरण सम्बन्धित मुलुकस्थित नेपाली नियोग वा नेपाल हेनगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त भएको हो ।

प्राधिकरणले बेपत्ता व्यक्तिहरू जीवित रहेको वा फेला परेको भए निज स्वयं वा एकाघरका परिवारका सदस्यले सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) बमोजिम उक्त सूचना प्रकाशित गरिएको प्राधिकरणले जनाएको छ ।
स्वदेशी बेपत्ताको विवरण

बाढीबाट अति प्रभावित रसुवा जिल्लाबाट मात्रै १ हजार ५३८ जना बेपत्ताको नामावली सूचीकृत छ । त्यस्तै, सिन्धुपाल्चोकबाट २१९, बर्दियाबाट ७४, सप्तरीबाट ५१, दाङबाट ३८ लगायत अन्य विभिन्न जिल्लाका नागरिकहरू रहेका छन्  ।

विदेशी नागरिकहरमा विभिन्न ७ वटा देशका नेपालस्थित कूटनीतिक नियोगहरू तथा परराष्ट्र मन्त्रालयमार्फत प्राप्त विवरणअनुसार मलेसिया, युक्रेन, अस्ट्रेलिया, रुस, जर्मनी, इटाली र दक्षिण कोरियाका नागरिकहरू बाढीमा परी बेपत्ता भएका छन् । 

कसरी पेस गर्ने दाबी ?

प्राधिकरणले सार्वजनिक गरेको विवरणमा कुनै व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्तिको परिवारले सात दिनभित्र दाबी पेस गर्न सक्ने जनाएको छ ।

दाबी पेस गर्न सार्वजनिक विवरणमा रहेको क्यूआर कोड स्क्यान गर्न वा प्राधिकरणको वेबसाइटमा रहेको बेपत्ता व्यक्तिको विवरण हेर्न सकिनेछ । साथै सम्बन्धित स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरेर पनि विवरण हेर्न सकिने प्राधिकरणले जनाएको छ ।

विवरणमा कुनै संशोधन वा थपघट गर्नुपर्ने भए त्यसको आधार र प्रमाणसहित प्राधिकरणको इमेल ठेगाना मा दाबी पठाउन सकिनेछ ।

Share News