काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले मंसिर ९ गतेदेखि नबिल ग्रोथ फण्ड निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । नबिल बैंक कोष प्रवद्र्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्न लागेको हो । प्रतिइकाई मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ ।
कुल निष्कासन हुने इकाईमध्ये १ करोड ५० लाख इकाई अर्थात् १५ प्रतिशत कोष प्रवद्र्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ । यसमध्ये नबिल बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित राखिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।
लगानीकर्ताले यस फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । इकाई खरिदका लागि छिटोमा मंसिर १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि मंसिर २३ गतेसम्म थप गरिनेछ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा सुविधा प्रदान गर्ने अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’मार्फत इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । यस योजनाको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङले सम्हालेको छ ।