१३ वटा जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषा प्रयोग गरिदैँ

कागमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल संवत ११४७ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले २०८० सालमै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने ऐन पारित गरी कार्यान्वयनमा ल्याएको स्मरण गरे । 

तर ऐन कार्यान्वयनमा आए पनि व्यवहारमा भाषाको प्रयोग प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले अब सबै मन्त्रालयका बोर्ड र लेटरहेडमा नेपाली, नेपाल र तामाङ भाषा प्रयोग गरिने जानकारी दिए । मुख्यमन्त्री थापामगरले नेपाल भाषा र तामाङ भाषाका विज्ञहरू सम्मिलित समूह गठन गरी सरकारी कार्यालयको कामकाजमा यी भाषाको प्रयोग विस्तार गर्ने तयारी भइरहेको पनि बताए । 

विज्ञहरूको सुझावका आधारमा प्रदेशका सबै १३ जिल्लामा भाषाको प्रयोगलाई विस्तार गरिने उनको भनाइ छ । उनले नेपाल भाषा, नेवार समुदायको संस्कृति, संस्कार, रीतिरिवाज, कला तथा बाजागाजाको संरक्षण र संवद्र्धनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने प्रतिवद्धता पनि जनाए ।

यसैक्रममा प्रदेशका प्रत्येक जिल्लामा राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिष्ठान स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले चालु आर्थिक वर्षमा दोलखामा प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

अन्य जिल्लाबाट माग आएमा त्यहाँ पनि प्रतिष्ठान स्थापनाका लागि बजेट उपलब्ध गराइने उनले बताए । नेपाल भाषाको संरक्षण र विकास काठमाडौं उपत्यकामा मात्रै सीमित नराखी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र काभ्रेलगायत वागमती प्रदेशका सबै जिल्लामा विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘मैले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशका सबै मन्त्रालयका नामपट्टमा नेपाली, नेपाल र तामाङ गरी तीनवटै भाषाको प्रयोग सुरु गरेका छौं । अब मन्त्रालयका लेटरहेडमा पनि तीनवटै भाषाको प्रयोग गरिनेछ । साथै, नेपाल भाषा र तामाङ भाषाका विज्ञहरूको सहयोगमा प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा यी भाषाको प्रयोग विस्तार गर्न आवश्यक कार्य अघि बढाइनेछ । ’

उनका अनुसार बागमती प्रदेशका १३ वटै जिल्लामा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको नाममा प्रतिष्ठान स्थापना गर्ने, नेपाल भाषा, नेवार समुदायको कला, संस्कृति, संस्कार, रीतिरिवाज तथा मौलिक सम्पदाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको छ । यस वर्ष दोलखा जिल्लामा पनि प्रतिष्ठान स्थापनाका लागि बजेट व्यवस्था गरिएको छ । अन्य जिल्लाबाट माग आएमा त्यहाँ पनि आवश्यक बजेट विनियोजन गरिने । 

नेपाल भाषा र नेवार समुदायको संस्कृति काठमाडौं उपत्यकामा मात्र सीमित नभएर सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेलगायत वागमती प्रदेशका सबै जिल्लामा यसको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताए । भाषा, लिपि, बाजागाजा, कला, संस्कृति र परम्पराको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । 

भाषा र संस्कृतिको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले नेपाल भाषाको विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिने बताए ।

Share News