काठमाडौं । जलवायु न्याय र अन्तर्राष्ट्रिय क्षतिपूर्तिका लागि गरेको पहलको
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी सञ्चारमाध्यम टाइमले सार्वजनिक गरेको सन् २०२६ का १०० प्रभावशाली जलवायु नेताको सूचीमा परेका छन् । नेपालको जलवायु जोखिम र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको मुद्दालाई विश्वमञ्चमा उठाउन सफल भएको उल्लेख गर्दै वाग्ले सो सूचीमा परेका हुन् ।
टाइमले नोभेम्बर ९ मा सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट–२०२६’ सूचीमा वाग्लेलाई समावेश गरेको हो । जलवायु परिवर्तनको असर न्यूनीकरण, जलवायु वित्त परिचालन र अन्तर्राष्ट्रिय नीतिगत सुधारका लागि योगदान पु¥याइरहेका विश्वभरका प्रभावशाली व्यक्तिहरूमध्ये उनलाई पनि छनोट गरिएको हो ।
यो सूचीमा वाग्ले नेपालको प्रतिनिधित्व गर्ने व्यक्तिका रूपमा समेटिएका छन् । उनीसँगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनलगायत विश्वका चर्चित व्यक्तित्व पनि परेका छन् ।
कसले बनाउँछ टाइम १०० क्लाइमेट सूची ?
‘टाइम १०० क्लाइमेट’ अमेरिकी सञ्चारमाध्यम टाइमले सन् २०२३ देखि सार्वजनिक गर्न थालेको वार्षिक सूची हो । यो सूची जलवायु परिवर्तनको चुनौती समाधान गर्न व्यवसाय, सरकार, प्रविधि, अनुसन्धान र नीतिगत क्षेत्रमा प्रभावकारी काम गरिरहेका व्यक्तिहरूको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले तयार गरिन्छ ।
टाइम अमेरिकी मिडिया हो । सन् १९२३ मा स्थापना भएको यो सञ्चारमाध्यमले पत्रिका, डिजिटल समाचार, विशेष रिपोर्ट र अन्तर्राष्ट्रिय प्रभावसम्बन्धी विभिन्न सूची तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
टाइमको ‘टाइम १०० क्लाइमेट’ सूचीले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता वा घोषणा मात्र होइन, त्यसबाट हासिल भएका परिणाम र प्रभावलाई पनि महत्त्व दिन्छ । यसमा सरकारी अधिकारी, व्यवसायी, वैज्ञानिक, अनुसन्धानकर्ता, लगानीकर्ता, अभियन्ता तथा नवप्रवर्तकलाई समेटिन्छ ।
कसरी छनोट गरिन्छन् १०० व्यक्ति ?
टाइमका प्रधान सम्पादक साम जेकब्सका अनुसार सूची तयार गर्न पत्रिकाका सम्पादक र संवाददाताहरूले सयौँ सम्भावित व्यक्तिको नाम अध्ययन तथा मूल्यांकन गरेका थिए ।
विशेषगरी पछिल्लो १२ महिनामा हासिल गरेका मापनयोग्य र दीर्घकालीन उपलब्धिलाई प्राथमिकता दिइएको उनले बताएका छन् । जलवायु परिवर्तनको क्षेत्रमा व्यक्तिले गरेको कामको वास्तविक प्रभाव, त्यसको विस्तार गर्न सकिने सम्भावना र जलवायु कार्यमा पु¥याएको योगदानलाई छनोटको आधार बनाइएको छ ।
यसरी सूची तयार गर्दा कुनै व्यक्तिको पद वा लोकप्रियतालाई मात्र आधार नबनाई जलवायु परिवर्तनको चुनौती समाधानमा उसले पु¥याएको प्रभावलाई महत्त्व दिइन्छ ।
वाग्ले किन परे सूचीमा ?
टाइमले वाग्लेलाई सूचीमा समेट्नुको मुख्य कारण नेपालको जलवायु जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै जलवायु न्याय र क्षतिपूर्तिका लागि गरेको पैरवी हो ।
गत अगस्टमा नेपालमा हिमताल विस्फोटबाट आएको विनाशकारी बाढीले १ हजार ५०० भन्दा बढी मानिसको ज्यान लिएको थियो भने हजारौं विस्थापित भएका थिए । उक्त विपद्पछि वाग्लेले जलवायु परिवर्तनमा न्यून योगदान गर्ने नेपालजस्ता विकासशील मुलुकले असमान रूपमा ठूलो क्षति भोग्नुपरेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएका थिए ।
उनकै पहलमा सरकारले विश्वका तीन ठूला हरितगृह ग्यास उत्सर्जक मुलुक चीन, अमेरिका र भारतसँग जलवायु क्षतिपूर्तिका लागि औपचारिक अनुरोध गरेको थियो ।
बाढीबाट भएको क्षतिको पुनःस्थापना र पुनर्निर्माणका लागि करिब ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसका लागि वाग्लेले जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘लस एन्ड ड्यामेज फन्ड’ बाट सहयोग माग गरेका थिए ।
अक्टोबर २२ मा संयुक्त राष्ट्रसंघले उक्त कोषबाट नेपाललाई २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको थियो । टाइमले वाग्लेको छनोटमा यो पहललाई विशेष महत्त्व दिएको छ ।
वाग्ले विगत २८ वर्षदेखि अनुसन्धानकर्ता, नीतिनिर्माता र निर्वाचित राजनीतिज्ञका रूपमा दिगो आर्थिक विकास तथा नीतिगत क्षेत्रमा सक्रिय रहेको विवरण पनि उनको छनोटसम्बन्धी समाचारमा उल्लेख छ । उनी यस वर्षको सूचीमा समावेश हुने एकमात्र अर्थमन्त्री भएको जनाएको छ ।
सूचीमा अरू को–को परे ?
टाइमको सन् २०२६ को १०० प्रभावशाली जलवायु नेताको सूचीमा विभिन्न देशका राजनीतिज्ञ, सरकारी अधिकारी, व्यवसायी, प्रविधि उद्यमी, अभियन्ता तथा अनुसन्धानकर्ता समेटिएका छन् ।
इो सूचीमा एन्टोनियो गुटेरेस पनि छन् । उनी संयुक्त राष्ट्रसंघका महासचिव हुन् । उनी विश्वव्यापी जलवायु संकट र जलवायु न्यायका विषयमा अन्तर्राष्ट्रिय पैरवी गर्दै आएका छन् ।
यस्तै, बेलायती राजपरिवारका सदस्य प्रिन्स विलियम पनि यो सूचीमा छन् । उनी वातावरण संरक्षण र जलवायु समाधानसम्बन्धी अभियानमा सक्रिय छन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि यो सूचीमा छिन् । युरोपको हरित अर्थतन्त्र र जलवायु नीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन् ।
अमेरिकाको युटा राज्यका गभर्नर स्पेन्सर कक्स, विद्युतीय सवारी उत्पादक कम्पनी रिभियनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आरजे स्क्यारिन्ज, वातावरण संरक्षण र समुद्री पारिस्थितिक प्रणालीको क्षेत्रमा लगानी तथा सहयोग गर्दै आएकी परोपकारी वेन्डी स्मिट र बेलायती अभिनेता तथा सामाजिक अभियानमा संलग्न व्यक्ति बेनेडिक्ट कम्बरब्याच पनि यो सूचीमा परेका छन् ।
यस्तै, बेलायती संगीतकार तथा वातावरण संरक्षणका अभियन्ता ब्रायन इनो, अमेरिकी बास्केटबल खेलाडी तथा सामाजिक अभियानमा संलग्न रसेल वेस्टब्रुक र स्वच्छ भू–तापीय ऊर्जाको विकासमा काम गरिरहेका फेर्भो इनर्जीका प्रमुख कार्यकारी टिम ल्याटिमर यो सूचीमा छन् ।