मुक्तिनाथ विकास बैंकमा व्यवसाय कर्जा स्वाप गर्दा आधार दरमै ऋण पाइने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ ।

बैंकले लक्ष्मीपूजाको अवसर पारेर २०८३ कात्तिक २२ गतेदेखि सुरु गरेको यो अभियान पुस मसान्तसम्म सञ्चालन हुनेछ ।

महोत्सवअन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीलाई आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने सुविधा उपलब्ध गराएको छ । यस योजनाअनुसार अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको व्यवसाय कर्जा मुक्तिनाथ विकास बैंकमा स्वाप गर्दा आधार दरमा शून्य प्रतिशत प्रिमियम अर्थात् आधार दरमै कर्जा प्राप्त गर्न सकिनेछ ।

बैंकका अनुसार यस योजनाले व्यवसायीलाई सहज र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउनुका साथै वित्तीय व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ । विशेषगरी साना तथा मझौला उद्यमीलाई व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक वित्तीय स्रोतको पहुँच सहज बनाउने बैंकको उद्देश्य छ ।

बैंकले ग्राहकको आवश्यकता, व्यवसायको सम्भावना र उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न वित्तीय सेवा तथा सुविधा प्रदान गर्दै आएको जनाएको छ । एसएमई महोत्सव पनि उद्यमशीलता प्रवर्द्धन र व्यवसायीलाई थप वित्तीय अवसर उपलब्ध गराउने प्रयासको हिस्सा रहेको बैंकले जनाएको छ ।

यस योजनाबाट लाभ लिन इच्छुक व्यवसायी तथा उद्यमीले मुक्तिनाथ विकास बैंकका नजिकका शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् । 

Share News