तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । तिहारको सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थाले बैंकिङ सेवा सञ्चालन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भन्सार कार्यालयमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाबाट सार्वजनिक बिदाका दिनसमेत आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले व्यापार सहजीकरण, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न तिहार बिदामा समेत बैंकिङ सेवा सञ्चालन गर्न अनुरोध गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

भन्सार विभागको कात्तिक १८ गतेको पत्रका आधारमा राष्ट्र बैंकले कात्तिक २२ गतेदेखि २६ गतेसम्म सार्वजनिक बिदाका दिन भन्सार कार्यालयमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवश्यक बैंकिङ सेवा सुचारु राख्न भनेको छ ।

तिहारको लामो सार्वजनिक बिदाका कारण मालवस्तुको भन्सार जाँचपास प्रक्रिया प्रभावित हुन नदिन तथा आयात–निर्यातसँग सम्बन्धित कारोबारमा अवरोध हुन नदिन यस्तो व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकको निर्देशन बमोजिम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले भन्सार कार्यालयमा रहेका आफ्ना शाखाबाट आवश्यक बैंकिङ सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ । 

Share News