यमनको उत्तरी सादा प्रान्तमा हवाई आक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । यमनको उत्तरी सादा प्रान्तमा भएको हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको अल-मसिराह टेलिभिजनकाअनुसार बिहीवार भएको आक्रमणमा कृषि कार्यमा संलग्न दुई परिवार र उद्धारकर्मीहरू निशानामा परेका थिए । टेलिभिजनले आक्रमणको आरोप साउदी अरेबियाका लडाकु विमानमाथि लगाएको छ । 

समाचारअनुसार साहर जिल्लाको अत तल्ह क्षेत्रमा खेतमा काम गरिरहेका दुई परिवारमाथि सुरुमा हवाई आक्रमण गरिएको थियो । त्यसपछि घाइते तथा प्रभावितको उद्धारका लागि पुगेका उद्धारकर्मीलाई लक्षित गरी दोस्रो आक्रमण गरिएको जनाइएको छ । घटनामा केही व्यक्ति अझै बेपत्ता रहेको पनि टेलिभिजनले जनाएको छ । 

यद्यपि, आक्रमणमा भएको मानवीय क्षतिको स्वतन्त्र पुष्टि हुन सकेको छैन । साउदी अधिकारीहरूले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । साउदी अरेबियाको सीमासँग जोडिएको सादा प्रान्त हुथी विद्रोहीको बलियो प्रभाव क्षेत्र मानिन्छ । पछिल्लो समय हुथी विद्रोही र साउदी अरेबियाबीच सीमापार आक्रमण तथा सैन्य गतिविधि बढ्दै गएको छ । साउदीले यमनका हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ भने हुथी विद्रोहीले पनि साउदी अरेबियातर्फ क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् । 

यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ । त्यसबेला हुथी विद्रोहीले राजधानी सानासहित उत्तरी यमनका अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरेका थिए । त्यसपछि यमनी सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा सैन्य हस्तक्षेप शुरु गरेको थियो ।

Share News