एमालेले राष्ट्रिय भेलाबाट ८ कार्यभार तय गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलामार्फत पार्टीका आठवटा प्रमुख कार्यभार अघि सार्ने भएको छ । 

पार्टीले सत्य, संगठन, पुनर्जागरण, युवा तथा महिला नेतृत्व, प्रतिपक्षी भूमिका र डिजिटल प्रतिवादलाई आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशाका रूपमा प्रस्तुत गरेको छ ।

काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना हुने राष्ट्रिय भेलाका लागि सार्वजनिक गरिएको अवधारणामा एमालेले पार्टीलाई जनस्तरसम्म विस्तार गर्ने र आधारभूत वर्ग तथा समुदायसँगको सम्बन्ध सुदृढ बनाउने लक्ष्य अघि सारेको छ ।

एमालेले सार्वजनिक गरेको आठ कार्यभारमध्ये पहिलोमा ‘सत्य’लाई जनस्तरसम्म पुर्याउने विषय समेटिएको छ । 

दोस्रोमा पार्टीलाई आधारभूत वर्ग र समुदायसम्म विस्तार गर्ने तथा तेस्रोमा संगठनलाई योजनाबद्ध काम र त्यसको मापन गर्ने प्रणालीमा अघि बढाउने उल्लेख छ ।

त्यस्तै, युवा र महिलालाई पार्टीको जिम्मेवारी, निर्णय प्रक्रिया र नेतृत्वमा स्थापित गर्ने विषयलाई चौथो कार्यभार बनाइएको छ । पाँचौं कार्यभारका रूपमा प्रत्येक कार्यकर्ताको आत्मविश्वास र जनसम्बन्ध पुनर्जागरण गर्ने एजेन्डा अघि सारिएको छ ।

पार्टीले प्रतिपक्षी भूमिकालाई नागरिक अधिकार र जनजीविकासँग जोड्ने नीति पनि अघि सारेको छ । 

सार्वजनिक अवधारणामा नागरिक अधिकारको रक्षा र जनजीविकाका सवाललाई प्रतिपक्षी राजनीतिको प्रमुख आधार बनाउने उल्लेख छ ।

यसैगरी, डिजिटल माध्यमबाट हुने प्रतिवादलाई पनि एमालेले आफ्नो राजनीतिक कार्यभारमा समेटेको छ । 

‘सत्यको विजय नभएसम्म’ डिजिटल प्रतिवाद जारी राख्ने अवधारणा प्रस्तुत गर्दै पार्टीले सूचना तथा सञ्चारका डिजिटल माध्यमलाई राजनीतिक प्रतिवादको क्षेत्रका रूपमा अघि सारेको छ ।

आठौं कार्यभारमा भने ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा नभएसम्म निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

null

Share News