काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र लगाइएका आरोपप्रति आपत्ति जनाएको छ ।
सभापति गगनकुमार थापाको सचिवालयले सोमबार (आज) विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।
सामाजिक सञ्जालमा आएका समाचारहरू निराधार र कपोलकल्पित भएको दाबी गर्दै अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न आमनागरिकलाई आग्रह गरेको हो ।
सरकारका पछिल्ला गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप कांग्रेसले लगाएको हो ।
विज्ञप्तिमा कांग्रेसले पार्टी विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको तथा त्यसबाट नेतृत्व र निर्णयको आधिकारिकतासम्बन्धी विषय निर्वाचन आयोग र अदालतका निर्णयबाट पुष्टि भइसकेको उल्लेख छ ।
त्यस्तै, संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशअनुसार सम्पन्न १५औं महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप सुदृढ बनाएको कांग्रेसको दाबी छ ।
कांग्रेसले लोकतन्त्र, नागरिक स्वतन्त्रता, जनअधिकार र विधिको शासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ ।
सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत गतिविधि गरे त्यसको सशक्त प्रतिवाद गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
बिचौलियासँग सम्बन्धित विषय र त्यससँग जोडिएका सबै प्रकरणमा गहिरो, निष्पक्ष तथा प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने कांग्रेसको भनाइ छ । दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने र त्यसमा पार्टीको पूर्ण साथ रहने पनि उसले स्पष्ट पारेको छ ।
तर, अनुसन्धानका क्रममा नेपाल प्रहरीको छापसहितका कागजात, तथ्य तथा कथित बयानहरू छानिछानी सार्वजनिक भइरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
अनुसन्धान चयनात्मक ढङ्गले अघि बढाइएको हो कि भन्ने प्रश्नसमेत उठेको कांग्रेसको भनाइ छ ।
अनुसन्धानमा संलग्न निकायभित्रकै व्यक्तिहरूको भूमिकाबारे विभिन्न विषय सार्वजनिक भइरहेकाले समग्र अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा उसले जोड दिएको छ ।
कांग्रेसले कुनै पनि निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पार्दै राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ ।
अनुसन्धानलाई निष्पक्ष बनाउन पार्टीको संसदीय दलले समेत निर्णय गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।