काठमाडौं । नेपाली कांग्रेसले समाचार संकलन तथा प्रकाशन गरेकै आधारमा पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन् ।
पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै महामन्त्री प्रदीप पौडेलले सरकारलाई तत्काल आफ्नो कदम सच्याउन आग्रह गरेका छन् ।
उनले पक्राउ परेका पत्रकारलाई अविलम्ब ससम्मान रिहा गर्नसमेत माग गरेका छन् ।
सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्तिको दुरुपयोगबारे खोजी गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको उनको भनाइ छ ।
कुनै समाचारप्रति आपत्ति वा असहमति भए त्यसको निरूपण गर्ने कानुनी बाटो खुला रहेको उनले बताएका छन् । तर, स्थापित कानुनी प्रक्रिया छाडेर प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गर्नु विधिको शासनविपरीत भएको उनको टिप्पणी छ ।
‘प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ,’ पौडेलले भनेका छन् ।
उनले सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप र निगरानी तत्काल बन्द गर्न पनि माग गरेका छन् । पत्रकारलाई पक्राउ गरेर तर्साउनुको सट्टा कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
विगतमा पनि गाडी तेर्साएर पत्रकारलाई आतंकित बनाउने प्रयास भएको स्मरण गर्दै पौडेलले अहिले त्यस्तै प्रवृत्ति राज्यसंयन्त्रबाटै दोहोरिनु लज्जास्पद र अस्वीकार्य भएको बताएका छन् ।
आफ्ना कमजोरी लुकाउन सञ्चारमाध्यमलाई तर्साउने प्रयास नगर्न उनले सरकारलाई चेतावनीसमेत दिएका छन् ।
प्रहरी भन्छ : हामीविरुद्ध गलत समाचार लेख्नेलाई पक्राउ गर्छौं
समाचार कक्षमा प्रहरी, पत्रकार धमाधम पक्राउ