काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार सादा पोसाकका प्रहरीले नेपाल प्रेस, नयाँ पत्रिका लगायत विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै काउन्सिलले पक्राउको स्पष्ट कारण र पूर्जी नदेखाइएको तथा अदालतको अनुमति लिइएको नदेखिएको जनाएको छ ।
अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको काउन्सिलको भनाइ छ । प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ ।
सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको भएको विज्ञप्तिमा उल्लेख छ । समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ ।
काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ । कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए पत्रकारलाई तत्काल रिहा गर्न आग्रह गर्दै काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवद्र्धनका लागि सदैव प्रतिबद्ध रहेको काउन्सिलले जनाएको छ ।