काठमाडौं । शुक्रबार साँझ नेपाल प्रहरी विभिन्न सञ्चारमाध्यमको समाचार कक्षमा पुगेर पत्रकारहरूमाथि धरपकड सुरु गरेको छ । सादा पोशाकका प्रहरीहरू समाचार कक्षमा प्रवेश गरेर पत्रकारलाई धमाधम पक्राउ गरिरहेको हो ।
प्रहरीले नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपालप्रेसको कार्यालयमा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको हो । सादा पोशाकमा पुगेका प्रहरीले सुवेदीलाई कार्यालयबाट पक्राउ गरेको नेपालप्रेसका प्रधानसम्पादक मातृका पौडेलले जानकारी दिए ।
उनका अनुसार समाचारको स्रोत पत्रकारको मृत्युसँगै समाप्त हुने बताएका छन् । बुट र धम्की अनि हतकडीको डरले स्रोतमाथिको विश्वासघात गर्न नसकिने उनको भनाइ छ ।
‘समाचारको स्रोत सार्वजनिक गर्ने विषय हाम्रो आचारसंहिता र विश्वव्यापी नैतिकताले पनि दिँदैन,’ उनले भने,‘ नेपाल प्रेसको समाचार कक्षबाट पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेलगत्तै मलाई र अध्यक्ष विन्दु लम्साललाई साइबर ब्युरोमा बोलाइएकाले हामी यहाँ उपस्थित छौं ।’
नेपाल प्रहरीको साइबर ब्यूरोले सुवेदीलाई समाचारको विषयलाई लिएर नियन्त्रणमा लिएको बुझिएको छ ।
सुवेदीलाई पक्राउ नभई सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको एक प्रहरी अधिकृतले विकासन्युजलाई जानकारी दिए ।
यस्तै, नेपाल प्रहरी नयाँ पत्रिकामा पनि पुगेको छ । प्रहरीले नवराज मैनालीलाई खोजिरहेको छ । नयाँ पत्रिकाले नेपाल प्रहरी अहिलेसम्म कार्यालयमै रहेको र प्रहरीले पत्रकारहरूसँग छलफलमा गरिरहेको जानकारी दिएको छ ।
‘हुल बाँधेर एक जत्था नयाँ पत्रिकामा प्रवेश गरेको छ । सिभिल ड्रेसमा माथिको आदेश भन्दै सहकर्मी नवराज मैनालीलाई खोजिरहेको छ,’ एक नयाँ पत्रिकाकर्मीले भने ।
यस्तै, डीएनए खबरका धिरज बस्नेत, मोटिभेटन्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पनि पक्राउ गरेको छ । यस्तै, दियो पोष्टमा पनि प्रहरी पुगेको जानकारी दिएको छ ।